धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित चन्द्रौटे बजार क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । मुलघाटको पुलसँगै जोडिएको दक्षिणी क्षेत्रको बजारलाई व्यवस्थित गर्न लागिएको हो ।
सो स्थानमा ३० भन्दा बढी व्यापारीले सडक क्षेत्रमा टहरा बनाएर यात्रुहरुलाई उखु बिक्री गर्ने गरेका छन् । अव्यवस्थित रुपमा रहेको सो क्षेत्रलाई व्यवस्थित गर्न लागिएको साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द लिम्बूले जानकारी दिए । ‘अहिले व्यापारीहरुले जताततै टहरा बनाएर उखु बेच्दै आएका छन् । अब, सो क्षेत्रलाई व्यवस्थित गरेर उखु बिक्री स्थल अर्को बनाउन लागेका छौं,’ वडाध्यक्ष लिम्बूले संगालोखबरसँग भने, ‘सडक क्षेत्रलाई चौडा गरेर सडकको तल्लोपट्टी उखु बेच्ने एकै खालका एकै रङका टहराहरु बनाउँछौ ।’
सडक आसपास क्षेत्र पन्छाउने र व्यवस्थित गर्ने काम आइतबारबाट सुरु गरिएको छ । सडकको दक्षिण क्षेत्रलाई करिब ५–७ मिटर चौडा गरेर त्यहाँ उखु बिक्री गर्ने बेग्लै क्षेत्र बनाउन लागिएको हो । त्यसपछि व्यापारीले सोही ठाउँमा बसेर उखु बिक्री गर्नेछन् । सडकको माथ्लो क्षेत्रका टहरा अगाडिको भागलाई पनि सफा र व्यवस्थित बनाइनेछ । मुलघाट पुलदेखि चन्द्रौटेहुँदै लाबरबोटे बजारसम्मको क्षेत्रमा सडकपेटी निर्माण गर्ने योजना पनि रहेको वडाध्यक्ष लिम्बू बताउँछन् । ‘चन्द्रौटेदेखि लाबरबोटेसम्मको सबै क्षेत्रलाई व्यवस्थित बनाउने योजना छ, अब त्यहाँ मान्छे हिड्ने सडकपेटी पनि बनाउछौं ।’
उखु बिक्री हुने स्थल भएकाले त्यहाँ उखुको प्रतिमासमेत बनाउने तयारी गरिएको छ ।
चन्द्रौटे बजार क्षेत्रको जग्गा सरकारी हो । त्यहाँ व्यापारीहरुले सडक आसपास टहरा निर्माण गरेर मुख्यगरी उखु बिक्री गर्दै आएका छन् । उखु बेचेर व्यापारीहरुले मनग्य आम्दानी गर्दै आएका छन् ।