विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका संरचना केन्द्रदेखि पालिकासम्म बन्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।
स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा कार्कीले जोड दिए । प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई केन्द्रले क्षमताका आधारमा अधिकार दिँदै जानुपर्ने कार्कीको धारणा थियो ।
प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा देखिने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ठूलो पुँजीलाई मात्र नभएर सानो पुँजीलाई पनि प्रोत्साहन गर्न आवश्यक रहेको तर्क राखे ।
निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रमहरू अगाडि सार्नुपर्नेमा मन्त्री रानाले जोड दिए । कोशी प्रदेश सरकारका मन्त्री र सचिवहरूको उपस्थितिमा आयोगले छलफल कार्यक्रम गरेको हो ।