धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो ।
संयन्त्रमा कांग्रेस र एमालेबाट तीन/तीन जना सहभागि भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दिनेश राई, उपसभापति सुनिल डंगोल र सचिव विजयसन्तोषी राई रहेका छन् ।
त्यस्तै, नेकपा एमालेबाट केन्द्रिय सदस्य राईसँगै जिल्ला अध्यक्ष शिव आङ्ला र सचिव पर्शुराम नेपाल संयन्त्रमा सहभागि भएका छन् ।
यसैबीच, संयन्त्रको पहिलो बैठकले जिल्लामा दुई पार्टीबीच समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ ।
स्थानीय सरकार सञ्चालनमा समझदारीपूर्ण वातावरण निर्माण गरेर काम गर्ने, महत्वपूर्ण विषयहरुमा साझा धारणा निर्माण गरेर अघि बढ्ने लगायत निर्णय भएको संयन्त्रका सदस्य एवं एमाले सचिव पर्शुराम नेपालले जानकारी दिए ।