विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ मा रहेको जय श्रीराम एग्रो फर्मले ड्रागन खेतीबाट मनग्य आम्दानी गर्न थालेको छ । तीन वर्ष अगाडि १० लाख ५० हजारको लगानीमा सुरु गरिएको ड्रागन खेतीबाट राम्रो आम्दानी हुन थालेको हो ।
दुई बिघा १० कठ्ठा क्षेत्रफलमा १५ सय पोलमा बिरुवा लगाएर सुरु गरिएको ड्रागन खेती थप फस्टाउँदै गएको फर्म सञ्चालक मध्येका तीर्थराज घिमिरेले बताए । उनले भने, ‘एक पोल बराबर चार वटा बिरुवा लगाइएको छ । फल पनि राम्रो छ । सोचेभन्दा राम्रो आम्दानी पनि भइरहेको छ ।’
उनले फर्मबाटै सस्तोमा फल बिक्री गरिरहेको जानकारी दिए । सिजनमा चार हजार पाँच सय किलो ड्रागन फल उत्पादन भएको र फर्मबाटै बिक्री भएको उनको भनाइ छ ।
‘फललाई तीन भागमा विभाजन गरेर बिक्री गर्ने गरिएको छ’, उनले भने, ‘फल अनुसार प्रतिकिलो तीन सय, दुई सय र एक सय रुपैयाँले बिक्री हुने गरेको छ ।’
विराटनगर, इटहरी, बेलबारी, पथरी, उर्लाबारी र रङ्गेली लगायतका क्षेत्रबाट उपभोक्ताहरू फर्ममै आएर फल किन्ने गरेको उनले बताए । गुणस्तरीय फल पाउने भएकाले उपभोक्ताले नै सबै फल गल्ने गरेको उनको भनाइ छ ।
उनी थप्छन्, ‘यसको माग बजारमा उच्च छ । एक पटक रोपेको बिरुवाले १५ वर्षसम्म निरन्तर फल दिन्छ ।’ उनले मेहनत अनुसार यसबाट राम्रो आम्दानी हुने बताए ।
ड्रागन खेती बाहेक फर्ममा उन्नत जातका खसीबाख्रासँगै हाँस, कुखुरा र माछा पनि पालिएको छ । उपभोक्तामाझ गुणस्तरीय उत्पादन पुर्याउने उद्देश्यका साथ लागिपरिरहेको उनले बताए ।