
विराटनगर । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।
‘वार्ताको क्रममा भएका निर्णयहरूको कुनै काम सरकार पक्षले पुरा नगरेकोले वार्ता स्वतः भङ्ग छ’, समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो विराटनगरमा जनप्रदर्शनको साथ विरोध सभाबाट नयाँ चरणको आन्दोलन घोषणा गर्न बाध्य भयौँ ।’
सङ्घर्ष समितिले घोषणा गरेको कार्यक्रम
१) जारी प्रदेश पुन: नामाङ्क आन्दोलनलाई नयाँ चरणमा उठाउन ८२+३ सांसद एवम् नेताहरू विरुद्धको कारवाहीलाई प्रभावकारी बनाउने र दवाव दिनको लागि प्रदेश सभा सदस्यहरूको परिवार तथा नातागोताहरूलाई कोशी नाममा दिएको हस्ताक्षर फिर्ता लिएर आत्माआलोचना गर्न अनुरोध गर्ने ।
२) प्रदेशको नाम कोशीमा हस्ताक्षर गर्ने ८२ जना सांसदहरूलाई प्रदेश नं. १ संसद सचिवालयमा उक्त हस्ताक्षर फिर्ता लिएको आधिकारिक सूचना दर्ज गराई जनताको कित्तामा चाँडोभन्दा चाँडो उभिन दवाव बढाउने ।
३) कोशी नाम खारेजी नभएसम्म वा कोशीमा दिइएको हस्ताक्षर फिर्ता लिएको संसद सचिवालयमा जानकारी नगराएसम्म प्रदेश सभा सदस्यहरू सार्वजनिक कार्यक्रमहरूमा सहभागि भए प्रतिरोध गर्ने नीति लिइएकोले सार्वजनिक कार्यक्रमहरूमा निमन्त्रणा नगर्न, नगराउनु हुन सबै पक्षलाई अनुरोध गर्दछौँ । कार्यक्रममा जबर्जस्ती बोलाइए हुनसक्ने क्षतिको जिम्मेवार स्वयम् आयोजक हुनेछ ।
४) प्रदेशको नाम कोशी लेखिएको भए मेटाउन/हटाउन स्वयम् निकायलाई अनुरोध गर्ने र अस्वीकार भए हटाइने कार्यक्रम तिव्र बनाइने छ । कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख र कर्मचारीहरूलाई अनुरोध गर्ने, नमानेमा स्पष्टिकरणको कारबाही अघि बढाइनेछ ।
५) कथित कोशी प्रदेश सभामा नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया २०८१ चैत १० गते सम्ममा राज्यपक्ष, ८२ सांसद र दलहरूबाट अगाडि नबढे राष्ट्रिय सहिद लाजेहाङको स्मृति दिवसको सोही दिनबाट प्रदेश नं. १ संसद घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन आम हड्ताल जस्ता कडा आन्दोलन हुने र प्रदेश नं. १ बाट कोशी नाम खारेजी र पुनः नामाङ्कनको आन्दोलनसँगै तेस्रो जनआन्दोलनको प्रस्थान विन्दु तय गर्दछौँ ।
६) कोशी नाम जवरजस्त राखिएको दिन फागुन १७ गतेलाई अँध्यारो दिनको रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरियो ।
७) ताप्लेजुङ बैठकको समानान्तर स्वायत्तता र स्वशासन सत्ता अभ्यास तिर अगाडि बढ्न आन्दोलनले घनिभूत तयारी गर्दै तेस्रो जनआन्दोलन तयारी समिति मार्फत प्रदेश ३, ४, ५, ६ र ७ को हकमा प्रदेश पुनः नामाङ्कनसहित सम्भव इलाकामा तेस्रो जनआन्दोलन कारवाही बढाउदै समानान्तर स्वायत्त र स्वशासन अभ्यास आन्दोलनको घनिभूत बहस उठान गर्ने । मधेश बाहेक अन्य ५ वटा प्रदेशका पहिचान विरोधी प्रदेश सांसदहरूलाई ती प्रदेश नामहरू पुनःर्विचार गर्न सचेत गराउँदै अन्यथा भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सांसदहरू हुने कुराको व्यापकता दिने ।
८) पहिचानसहित समाजवाद र लोकतन्त्र स्थापनाको अभावमा समुदायको पहिचानलाई अस्वीकार गर्ने दल र नेताहरूले देश तथा जनजीवनको प्रतिनिधित्व गर्न नसक्ने चरित्र प्रमाणित भइसकेको हुँदा ती दलहरूमा रहेका पहिचान पक्षधर नेताहरूलाई त्यस्ता दल परित्याग गरि जनताको साथमा उभिन आग्रह गर्ने ।
९) ताप्लेजुङमा घोषित बाजहाड मार्ग, ओखलढुंगामा घोषित बलवहादुर राई मार्गलाई पुनःव्यवस्थित गर्दै धरान धनकुटा सडकलाई राम्लिहाङ–रिदामा मार्ग घोषणा निर्णय र चतारा–गाईघाट–दुधौली सडकलाई नारदमुनी थुलुङ मार्ग घोषणा निर्णयलाई शीघ्र कार्यान्वयन र भोजपुर–घोडेटार–वालाङखा–चौदण्डी मार्गलाई रामप्रसाद राई मार्ग घोषणा गर्ने ।
१०) सांस्कृतिक पवित्र मुन्धुमस्थल मुकुम्लुङ साथै विभिन्न आदिवासी भूमी ढोरपाटनल, बोझेनी लगायत सांस्कृतिक सम्पदा रक्षा आन्दोलनमा दृढतापूर्वक सघाऊ पुर्याइने छ । स्थानीय तहबाटै ‘पहिचान बिना कर नतिरौं’ आन्दोलनवारे परिपक्व तयारी गरी कार्यान्वयनमा जाने ।
११) २०८० देखि कारागारमा बन्दी बनाइएका श्री आशिष सांबाको रिहाइका लागि राजनीतिक, कानुनी र सडकबाट हरसम्भव प्रयत्न जारी राखिनेछ ।
१२) २०८१ मंसिर २ गते विराटनगरमा घोषणा भएको संघर्षको नीति अनुसार संयुक्त सङ्घर्ष समितिको बैठकले कार्यक्रम बनाएर प्रभावकारी कार्यान्वय गरिनेछ ।

संगालोखबर 













