विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज बदल्न एमालेको जित आवश्यक रहेको बताएका छन् । एमाले मोरङले ग्रामथान गाउँपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहमा आधुनिक विकाससँगै प्रविधिको प्रयोग बढाउनु पर्ने बताए । उनले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको उल्लेख गरे । यसका लागि पार्टीका नेता तथा कार्यकर्ताले जिम्बेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।
यो चुनावलाई पार्टी र मुलुकको भविष्यको सफलताका रूपमा लिनुपर्ने उनले बताए । यस्तै पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कुनै भ्रममा नपरी प्रचारप्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले मिसन ८४ को लक्ष्य तय भइसकेकाले पुरा गर्न पछिल्लो समय पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियानलाई तीव्र पारिएको उल्लेख गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन विपरित काम गर्न कसैलाई छुट नभएको बताए ।
मुख्यमन्त्री कार्कीले अहिलेको शासन व्यवस्थाले कानुन विपरित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउने काम गरेको उल्लेख गरे । कार्कीले नेकपा एमालेको सङ्गठनलाई शसक्त बनाउने काममा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले मोरङका अध्यक्ष बाबुराम कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।