संगालोखबर

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस एमाले मिलेर सरकार बनाउनुमा साना दललाई पाखा लगाउने नियत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले साना दललाई पाखा लगाउने उद्देश्य नलिइएको स्पष्ट पारेका हुन् ।

Advertisement

तर, साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । राजनीति मैदानमा होमिएका जुनसुकै दलले आफूलाई बलियो बनाउनुको विकल्प नरहेको भन्दै उनले जनादेश पाउने दलले नै शासन गर्नुपर्ने विचार व्यक्त गरे । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उनले भने ।

नागरिकमा पुराना दल प्रति बढ्दै गएको निराशा चिर्न पनि काँग्रेस र एमाले एक ठाउँमा उभिएको  पोखरेलले बताए । अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उनले दाबी गरे । प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उनले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानका लागि काम गर्नुपर्नेमा जोड दिए ।

अहिले राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको बताउँदै उनले त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नु परेको स्पष्ट पारे । उनले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नु पर्ने धारणा राखे । सबै राजनीतिक दलसँगको संवाद, छलफल र सहमतिबाट ०८४ अघि नै संविधान संशोधन गरिने उनले जानकारी दिए ।

धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरू माथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई ०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेलले बताए । ‘त्यो परिपाटिलाई चुनावबाट अन्त्य गर्ने हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ’, पोखरेलले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!