विराटनगर । मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । हिजो साँझ अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर-१७ मटेहर्वाबाट विराटनगर-११ का ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर-१० का ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ हुलास चोकबाट ३ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा नगरपालिका-६ का ३२ वर्षीय युवराज खड्कालाई पक्राउ गरेको छ ।
यसैगरी हिजो राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-३ बाट ५२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
धरान–१५ का २४ वर्षीय राम श्रेष्ठ र धरान-१६ का २२ वर्षीया मेलिना राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।