विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको छ । हिजो उर्लाबारी-४ बक्रा पुल स्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ह ६३०९ नम्बरको अटोबाट कपडा बरामद गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कपडा फेला पारेको थियो ।
दुई लाख ५० हजार मूल्य बराबरको लेडिज टप्स एक हजार ९२ थान र कुर्ता सुरुवाल २० थान बरामद गरिएको जोशीले जानकारी दिए । कपडासहित प्रहरीले तीन जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ ।
अटो चालक विराटनगर-१५ का ३५ वर्षीय ओम जित साह, सोही स्थानका २२ वर्षीय अभिषेक चौधरी र २८ वर्षीय तबरेज अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाइएको छ ।