विराटनगर । मोरङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । गएराति विराटनगर र कटहरीको जुवा खालबाट २० जनालाई पक्राउ गरिएको हो ।
विराटनगर-६ भट्टी मोडबाट विशाल देवान राईको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
उनीहरूलाई गएराति ११ः३० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । विराटनगर-२ का ३६ वर्षीय विमल मण्डल, विराटनगर-६ का ५५ वर्षीय गङ्गाराम मण्डल र विराटनगर-११ का ३७ वर्षीय राजेश काफ्ले पक्राउ परेका हुन् ।
यस्तै विराटनगर-६ का ५५ वर्षीय मन बहादुर कार्की, ३२ वर्षीय भोला सहनी, ३२ वर्षीय रवि कुमार महतो, ४१ वर्षीय राम कुमार सहनी र २८ वर्षीय शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी विराटनगर-११ का ३६ वर्षीय शिव कुमार सहनी, २४ वर्षीय विशाल सहनी, ३० वर्षीय संजिव सहनी र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का ३९ वर्षीय भरत कुमार राई पक्राउ परेका छन् ।
उनीहरूको साथबाट एक बुक तास र ५४ हजार सात सय १० रुपैयाँ नगद बरामद गरिएको प्रवक्ता जोशीले जानकारी दिए । यस्तै मोरङको कटहरी गाउँपालिका-२ का प्रभुकुमार साहको घरमा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।
गएराति १२ बजेतिर तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जोशीले बताए । घरधनी ५८ वर्षीय प्रभुकुमार साह, कटहरी-२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहोरा, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार र कटहरी-१ का ४६ वर्षीय प्रदिप कुमार साह पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट तीन बुक ताससहित एक लाख १९ हजार पाँच सय नेपाली र चार हजार छ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रवक्ता जोशीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता जोशीको भनाइ छ ।