विराटनगर । विराटनगरमा सञ्चालित नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै साबिक विजेता सुदूरपश्चिमले उपाधि जितको हो ।
यस अघि २०२२ मा पनि सुदूरपश्चिमले उपाधि जितेको थियो । त्यतिबेला र अहिले संयोगले फाइनलमा लुम्बिनीलाई नै हराउँदै सुदूरपश्चिमले उपाधि उचालेको हो । उपाधिसँगै सुदूरपश्चिमले नगद २ लाख पाएको छ भने उपविजेता लुम्बिनीले १ लाखमा चित्त बुझाएको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । सुदूरकालागि अभिषेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेरले १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमारले १ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाई १ सय १९ रन मात्र बनायो । लुम्बिनीका आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २-२ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउन्ड स्टाफलाई वितरण गरेका छन् ।
विजयी टिम तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् ।