संगालोखबर

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

Advertisement

टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द घर्तीले २० रन र भुपेन्द्र शाहीले १९ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले सर्वाधिक ६ विकेट लिए । उनले १० ओभरमा ३ मेडन ओभर गर्दै १९ रन मात्र दिए । यादव खेलको प्लेयर अफ म्याच घोषित भए ।

१ सय रनको झिनो लक्ष्य पाएको लुम्बिनीले २६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । लुम्बिनीका दर्ष सोनारले २० रन बनाउँदा समिचर असिसलले पनि नटआउट २० रन जोडे । कर्णालीका यूनिष ठकुरीले २ विकेट लिँदा अनुज चनराले पनि २ विकेट दिए । लुम्बिनीले ३ खेलमा ३ मा जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ भने कर्णाली २ खेलमा पराजित हुँदै पुछारमा छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कोशी प्रदेशलाई १ सय १४ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८ रन बनायो । गण्डकीका सिब्रिन श्रेष्ठले ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए । कोशीका रोशन साहले ४ विकेट लिँदा विपिन महतोले ३ विकेट लिए ।

२ सय ९ रनको विजयी लक्ष्य पाएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । कोशीका सोनू अन्सारीले सर्वाधिक ३४ रन बनाए । गण्डकीका अर्जुन कुमालले ४ विकेट लिँदा अपराजित पौडेलले ३ विकेट लिए । प्लेयर अफ द म्याच गण्डकीका सिब्रिन श्रेष्ठ भए । गण्डकी ३ मध्ये २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान उक्लिएको छ भने कोशी ३ खेलमा जितविहीन हुँदै छैटौँ स्थानमा पुगेको छ ।

अब, बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!