विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सबै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो । कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क ल्याउन सकेनन् । सुदूरपश्चिमका नरेन साउदले सर्वाधिक ५ विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद, खेलको प्लेयर अफ म्याच घोषित भए ।
७५ रनको झिनो लक्ष्य पाएको सुदूरपश्चिमले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सुदूरपश्चिमका नरेन भट्टले २८ रन बनाउँदा युवराज खत्रीले २३ रन जोडे । कर्णालीका यूनिष ठकुरीले सर्वाधिक ३१ विकेट लिए । सुदूरपश्चिमको २ खेलमा २ अङ्क छ भने कर्णाली दुवै खेलमा पराजित भएसँगै अङ्कविहीन छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा मधेशले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो । मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । बागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट लिए ।
१ सय ४३ रनको विजयी लक्ष्य पाएको बागमतीले ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । वाग्मतीका रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेश ३ खेलमा २ खेल जित्दै ४ अङ्कका साथ दोस्रो स्थान छ भने बागमती २ खेल मध्ये १ मा जित हात पार्दै पाँचौ स्थानमा छ ।
भोलि बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।