विराटनगर । मोटरसाइकल चालकले अनिवार्य हेलमेट लगाउनु पर्छ । यो आफ्नै सुरक्षाका लागि हो । तर विराटनगर-१८ आईसीपी क्षेत्रमा भने भारतीय र नेपाली दुवै नम्बर प्लेटका मोटरसाइकल चालकले हेलमेट लगाएको पाइँदैन ।
मोटरसाइकल चालक भन्सार एजेन्ट र कर्मचारी हुन् । उनीहरू फाइल चेकजाँच गराउन एक स्थानबाट अर्को स्थानमा जाँदा हेलमेट बिना नै मोटरसाइकल कुदाउँछन् । जुन दृष्य जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख राजन लम्सालले पनि प्रत्यक्ष देखे । उनी केही दिन अगाडि ट्राफिक सचेतनाका लागि आईसीपी पुगेका थिए ।
ट्राफिक सचेतनाका लागि त्यहाँ पुगेको लम्सालसहितको टोलीले भने उनीहरूलाई नदेखे जस्तै गर्यो । अन्य स्थानमा तत्कालै जरिवाना लिने ट्राफिक सचेतनाका लागि पुग्दा समेत मुकदर्शक बन्यो ।
लम्सालका अनुसार नेपालका कुनै स्थानमा पनि बिना हेलमेट मोटरसाइकल चलाउन मिल्दैन । उनले आईसीपी क्षेत्रमा प्रत्यक्ष देखिएको दृश्यले गम्भीर बनाएको बताए । यसको नियन्त्रणमा ट्राफिक प्रहरी सक्रिय भएर लाग्ने उनले दाबी गरे ।