संगालोखबर

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिलाई कुटपिट गरी दुवै हात भाँचिदिने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ का २४ वर्षीय ‘बब’ भनिने राजकुमार सहनी छन् ।

Advertisement

प्रहरीका अनुसार उनले अपाङ्गता भएका व्यक्ति कैलाश कुमार गुरुङलाई गोल्डेन हस्पिटल नजिक निर्घात कुटपिट गरेका थिए । वेवारिसे अवस्थामा बस्दै आएका गुरुङ जन्मजात नै बोल्न र सुन्न सक्दैनन् ।

उनको साथमा रहेको मोवाइलसहितका सामान लुट्ने क्रममा उनीमाथि सहनीले कुटपिट गरेको पाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘वेवारिसे अवस्थामा बस्दै आएका गुरुङसँग भएको सामान लुटपाट गर्ने क्रममा साहनीले उनको दुई वटै हात भाँचिदिएको र टाउकोमा पनि गम्भीर चोट लागेको थियो,’ डीएसपी जोशीले संगालोखबरसँग भने, ‘बोल्न र सुन्न पनि नसक्ने भएकाले सुरुमा पत्ता लगाउन अलिक असहज भयो, अनुसन्धान गर्दै जाँदा सीसीटीभी फुटेज लगायत प्रमाणका आधारमा साहनीले कुटपिट गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरेका छौ ।’

गत कात्तिक ४ गते बिहानका राती करिब ३ बजे गुरुङमाथि कुटपिट भएको थियो । उनलाई उद्धार गरेर कोशी अस्पतालमा ल्याई उपचार गरिएको छ । घटनाको अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान भएपछि गएराती ९ बजे बसपार्कबाट साहनीलाई नियन्त्रणमा लिइएको डीएसपी जोशीले जानकारी दिए ।

कोही नभएका व्यक्तिको न्यायका लागि पनि प्रहरीले काम गर्छ भन्ने यो घटनाले प्रमाणित गरेको डीएसपी जोशी बताउँछन् । उनी भन्छन्, ‘पहुँच र पावरका आधारमा आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको आरोप लाग्ने गर्छ, तर यो घटनाले फरक सन्देश दिएको छ, पीडित गुरुङको कोही थिएनन्, प्रहरीले कोही नभएका व्यक्तिको न्यायका लागि पनि काम गर्छ भन्ने एउटा उदाहरण हो यो ।’

कुटपिटमा संलग्न सहनीविरुद्ध प्रहरीले ‘कुटपिट तथा अङ्गभङ्ग’ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाएको छ । यता, घाइते गुरुङ पनि स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!