संगालोखबर


विराटनगर । पछिल्लो समय जुटखेती तर्फ कृषकको आकर्षण घटिरहेको छ । मिहेनत अनुसार उचित मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुट खेती छाड्नेको सङ्ख्या बढ्दो छ ।

पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीबाट खर्च उठ्न मुस्किल पर्ने कृषकहरू बताउँछन् । धनपालथान गाउँपालिका-१ नोचाका काशीनाथ चौधरीले पाँच बिघा क्षेत्रफलमा जुटखेती गर्थे । तर मूल्य पाउन छाडेसँगै उनले अहिले एक बिघा १० कठ्ठा क्षेत्रफलमा मात्रै जुटखेती गरेका छन् ।

Advertisement

लगानी धेरै हुने भएकाले धेरैले खेती गर्न नै छाडेको उनी बताउँछन् । जुट खेति झन्झटिलो भएको र लगानी उठाउन नै समस्या भएका कारण धेरैको ध्यान यसबाट हटेको उनी सुनाउँछन् । पछिल्लो समय जुट धुने मान्छे समेत पाउन छाडेको उनले सुनाए ।

‘मजदुरको ज्याला पनि बढेको छ’, उनले भने, ‘हामीले भने उचित मूल्य नै पाउन छाडेका छौँ ।’ जुटखेतीलाई आधुनिकीकरण गर्न नसक्दा र उचित मूल्य नपाउँदा समस्या भएको जहदा-७ का कृषक राजनिश सिंह बताउँछन् । लगानी खेर जानुभन्दा खेती नै छाड्दा उचित ठानेर धेरैले जुटखेती छाडिसकेको उनी सुनाउँछन् ।

कृषि ज्ञानकेन्द्र विराटनगरको तथ्याङ्क हेर्दा जुटको उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा ७ हजार ३ सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ७ हजार ४ सय ९ दशमलव ५० मेट्रिक टन र गत आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ७ सय ३१ मेट्रिक टन जुट उत्पादन भएको  देखिन्छ ।

मोरङमा गत वर्ष पाँच हजार एक सय १० हेक्टर जमिनमा जुटखेती गरिएकोमा यस वर्ष बृद्धि भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । यो वर्ष पाँच हजार एक सय २५ हेक्टर जमिनमा जुटखेती भएको उनले जानकारी दिए ।

जुटको मूल्य भने वर्षेनी घटिरहेको उनले बताए । आव २०७८/७९ मा प्रतिक्विन्टल ११ हजारमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९/८० मा प्रतिक्विन्टल ९ हजार ५ सयसम्ममा कारोबार भएको थियो । हाल प्रतिक्विन्टल ८ हजार १ सय ५० मा कारोबार भइरहेको उनले बताए ।

कोशी प्रदेशमा ६ हजार ९ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिदै आएको छ । झापा, मोरङ र सुनसरीमा विशेषगरी अन्य जिल्लाको तुलनामा बढी यसको खेती गरिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!