संगालोखबर

विराटनगर । विराटनगरको हिमालय रोड क्षेत्रका व्यापारीहरूले सो क्षेत्रमा मेला महोत्सव गर्न महानगरले अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्क बनाउदा स्थानीय व्यापार चौपट भएको भन्दै आक्रोशित व्यापारीहरूले अब सो क्षेत्रमा मेला महोत्सव गर्दा व्यापार झनै सङ्कटमा पर्ने भन्दै सचेत गराएका हुन् ।

Advertisement

मञ्जिना मुभिज क्रिएसनले केही दिन अघि पत्रकार सम्मेलन गरेर आगामी असोज १७ देखि २३ गतेसम्म सो स्थानमा सडक खाना महोत्सव गर्ने जानकारी दिएपछि स्थानीय व्यापारीहरूले त्यहाँ महोत्सव नगर्न आग्रह गरेका हुन् । अर्को खाली ठाउँमा महोत्सव गर्न उनीहरूको सुझाव छ । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए । ‘सुन्दैछु यसपालि पनि यहाँ ८ दिन मेला लाग्दैछ रे । यसमा हाम्रो विरोध छ । अन्य खाली ठाउँमा लगाउँदा हुन्छ तर यहाँ लगाउने विषयमा हाम्रो विरोध हुन्छ,’ शर्माले भने, ‘व्यापार नभएर हामी त्यसै तनावमा छौं । अझै एकहप्तासम्म पूरै सडक ढाकेर मेला लगाउँदा सटर बन्द गरेर हामी घर बस्दा हुन्छ ।’

शर्माले व्यापारीलाई शनिबार एकदिन फुटपाथमा सामान बिक्री गर्न नदिने निकायले रोडै ढाकेर मेला र महोत्सव लगाउन दिन नहुनेमा जोड दिए । गत वर्ष नै अबदेखि हिमालय रोडमा मेला लगाउन नदिने सहमति भएको स्मरण गर्दै उनले भने, ‘यसपटक फेरि लगाउने हल्ला सुन्दैछु । यहाँ मेला लगाउने विषयमा हाम्रो गम्भीर आपत्ति र विरोध छ । गत वर्ष पनि मासु र विभिन्न परिकारको गन्धले पसलमा बस्नै समस्या भएको थियो ।’

अर्का व्यापारी सुदर्शन बरालले पनि महोत्सवको अनुमति दिइए आन्दोलन गर्ने चेतावनी दिए । ‘हिमालय रोडमा मेला लाग्दैछ भनेर सञ्चारमाध्यमबाट सुन्दैछु, त्यसै पनि व्यापार छैन । त्यसमाथि सडक नै ढाकेर मेला लगाइयो भने त्यसले हाम्रो व्यापार पूर्ण रुपमा बन्द हुन्छ,’ बरालले थपे, ‘खाना महोत्सव भएकाले पकाएका खानाको गन्धले पसलमा बस्नै नसक्ने अवस्था आउँछ ।’

व्यापारी शर्मिला मैनालीले अन्य खाली ठाउँमा मेला लगाउन सुझाव दिइन् । ‘बाटो भनेको हिँड्नका लागि हो । अहिले त एकतर्फबाट मात्रै सवारी चलाउन पाइन्छ । अहिलेको संरचना बनेपछि व्यापारमा ६० प्रतिशत गिरावट आएको छ,’ उनले भनिन्, ‘हाम्रो आवाजलाई सम्बन्धित निकायले सुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

स्थानीय व्यवसायी खेमराज ढुङ्गानाले पीडामा रहेका व्यापारीलाई महोत्सवले झनै पीडा दिने प्रतिक्रिया दिए । व्यापारी पप्पु देवले पनि सार्वजनिक रोडमा मेला गर्न नहुने भन्दै आपत्ती जनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!