संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकता औँल्याएका छन् । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो बताएका हुन् ।

Advertisement

जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने उनको दावी छ । ‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । तब मात्रै देशको विकास हुन्छ,’ उनले भने, ‘जनप्रतिनिधिले नीति नियम निर्माण गर्ने हो । त्यसको कार्यान्वयन गर्ने कर्मचारीहरूले नै हो ।’

कर्मचारी स्थायी सरकार भएको बताउँदै मेयर कोइरालाले स्थायी सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधिहरू ५-५ वर्षमा जनताबाट अनुमोदित हुनुपर्ने बताउँदै मेयर कोइरालाले भने, ‘कर्मचारीहरूले एकपटक लोकसेवा पास गर्दा भयो तर राजनीति गर्ने हामीले त ५-५ वर्षमा जनअनुमोदित हुनुपर्छ । कर्मचारीहरूले जनतालाई दिने सेवा र कामसित जनप्रतिनिधिको भविष्य जोडिएको हुन्छ ।’ कोइरालाले कर्मचारीका समस्या समाधानका लागि आफू सधैँ लागिपर्ने आश्वासन पनि दिएका छन् ।

त्यस्तै, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले निजामती कर्मचारीहरू व्यावसायिक हुनुपर्नेमा जोड दिए । उनले दिवसका दिन एकपटक हरेक कर्मचारीले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निजामती कर्मचारीहरू अझै पनि व्यावसायिक हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष कृष्ण भट्टराई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष फडिन्द्र अधिकारी, एकीकृत सरकारी कर्मचारी सङ्गठनका सचिव नेत्र खतिवडा, शालिकराम कोइराला, काशी पराजुलीलगायतले ७ वर्षदेखि निजामती कर्मचारी ऐन संशोधन नहुँदा कर्मचारीहरू अन्यायमा परेको धारणा राखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!