संगालोखबर

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङमा आवद्ध २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी लामो समयपछि बल्ल पाउने भएका छन् । उनीहरूले एक/एक लाखका दरले भुक्तानी पाउने भएका हुन् ।

Advertisement

बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको छ । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । बीमा अवधिभित्र सङ्क्रमित भएका मध्ये २० जनाले बिमा दाबी भुक्तानी पाएका छन् । सङ्क्रमित भएका र भुक्तानीका लागि सम्पूर्ण कागजात पुगेका २९ जनाले भुक्तानी पाएका थिएनन् ।

कोरोना बीमाबापतको रकम भुक्तानीमा अटेर गरेपछि महासङ्घका तर्फबाट सचिव नेत्र पी अधिकारीले ०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । ०७९ जेठ १६ गते उच्च अदालत विराटनगरले रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्सका नाममा परामादेश दियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि महासङ्घले अजोड इन्स्योसेन्स विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते पुनः मुद्दा दर्ता गरेको थियो ।

उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी पठाएकाले अब बिमित पत्रकारहरूलाई रकम प्रदान गरिने महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!