संगालोखबर

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तह चार वर्षे बीबीएस तह २०२४ ब्याचदेखि लागू हुन लागेको नयाँ पाठ्यक्रमका सम्बन्धमा छलफल गरिएको छ ।

Advertisement

व्यवस्थापन सङ्कायका डीन डा. सन्देशदास श्रेष्ठको अध्यक्षतामा विभिन्न कलेजका प्रतिनिधिबीच आइतबार छलफल गरिएको हो । व्यवस्थापन सङ्कायको सभाहलमा भएको छलफल कार्यक्रममा १४ वटा क्याम्पसका प्रतिनिधिहरू लगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको व्यवस्थापन सङ्कायका अधिकृत विष्णु तिवारीले जानकारी दिए । नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा विषयविज्ञ सहितको टोलीमा छलफल भएको उनले बताए ।

छलफल कार्यक्रममा कलेजका तर्फबाट सम्बन्धित विषय शिक्षकहरूको पनि उपस्थिति थियो । कार्यक्रममा विभिन्न कलेजबाट सहभागी प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । उनीहरूले यस्तो किसिमको छलफल आगामी दिनमा पनि आवश्यक रहेको र यो छलफल एकदम उपलब्धिमूलक भएको बताएका थिए ।

व्यवस्थापन संकायका डीन श्रेष्ठले यस्तो किसिमका कार्यक्रम आगामी दिनमा पनि सञ्चालन हुने बताए । उनले नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सबैले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा व्यवस्थापन सङ्कायका सहडीन सोनिला शाक्य, व्यवस्थापन तथा वाणिज्य प्रशासन विषय समिति अध्यक्ष प्रा.डा. सदय हमाल, विषय समिति सदस्यहरू प्रा. मोहन बहादुर बस्नेत, प्रा. रमाकान्त दास, शैलेन्द्र शिवाकोटी, युवराज धिताल लगायतको समेत उपस्थिति थियो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!