काठमाडौं, ३० भदौ । २ असोजमा हुने तेस्रो चरणअन्तर्गतको प्रदेश २ कोे स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार) मध्यरातबाट मौन अवधि सुरु हुँदै छ । मतदान सुरु हुनु ४८ घण्टा अघिबाट सुरु हुने यस अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ ।

Advertisement

निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ । मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसारलगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले दलहरूलाई सचेतसमेत गराएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसारअन्तर्गत सभा, जुलुस, नाराबाजीलगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले आज (शुक्रबार) मध्यरातसम्म दलहरूले आफ्नो वा उम्मेदवारको प्रचारप्रसार गर्न पाउने तर मौन अवधि सुरु भएपछि नपाउने बताए । ‘शुक्रबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ प्रवक्ता ढकालले भने । उनका अनुसार निर्वाचनको ४८ घण्टा अघिबाट नै मौन अवधि सुरु हुनेछ ।

मौन अवधिभित्र आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद २ को नियम ५(घ) ले उम्मेदवारले पाँच प्रकारका काम गर्न निषेध गरेको प्रस्ट पारेको छ । यस्तै स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नहुने उल्लेख छ ।

स्थानीय तहको तेस्रो चरणअन्तर्गतको निर्वाचन २ असोजमा प्रदेश २ का १ सय ३६ स्थानीय तहमा हुनेछ । सो प्रदेशमा मतदानका लागि आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ । आयोगले निर्वाचनको दिन मतदान सम्पन्न नहुँदासम्म मौन अवधि रहने बताएको हो ।

के गर्न पाइँदैन ?

आचारसंहिताको परिच्छेद २ को नियम ५(घ) अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, ‘उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ ।’

यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

उल्लंघन गरे जरिवाना

मौन समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ ।
त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन, २०७३ मा उल्लेख गरेको छ ।

उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिनसमेत आचारसंहिता पालना गर्नुपर्नेछ । उनीहरूले पालना गर्नुपर्ने ६ किसिमका आचारसंहिता रहेको आयोगले बताएको छ । जसमा मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने, मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी मतदान केन्द्रमा रहेका राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा संकेत नभएको पहिरन, परिचयपत्र र ब्याज मात्र प्रयोग गर्नुपर्ने, कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने उल्लेख छ ।

शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन भने प्रयोग गर्न सकिनेछ । -राजधानी दैनिक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!