संगालोखबर

विराटनगर । भोजपुर घर भएकी २१ वर्षकी मुना पाण्डे स्नातक अध्ययनका लागि तीन वर्षअघि अमेरिका पुगेकी थिइन् । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत उनको सोमबार साँझ टेक्सासको ह्युस्टनमा गोली हानी हत्या भएको छ । छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

Advertisement

सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युस्टन प्रहरीले जानकारी दिएको अमेरिकाबाट सञ्चालित ‘खसोखास अनलाइन’ ले उल्लेख गरेको छ ।

अहिलेसम्म घटना विषयमा कोही पनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको खबरमा उल्लेख छ ।

यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नुअघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

काठमाडौंमा रहेकी उनकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएको खबरमा उल्लेख छ ।

पारिवारिक स्रोतका अनुसार आमा अनिताले मुनालाई निकै सङ्घर्ष गरेर हुर्काएकी थिइन् ।  २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि मुना पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । 

मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पनि पारिवारिक स्रोतबाट पुष्टि भएको छ । उनले प्रेमीसँग घुम्न गएका फोटो र भिडियो आमा अनितालाई पठाउने गरेको तर बीचमा उनीहरूबीच सम्बन्ध त्यति राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।

आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेकी छिन् । चार दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुःखद खबर सुन्नुपरेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!