संगालोखबर

विराटनगर । विराटनगरमा भोलि मङ्गलबार निकालिने राधाकृष्ण रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रामा हुन सक्ने आपराधिक गतिविधिको निगरानी गरिने भएको हो ।

Advertisement

राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । रथयात्रामा भीड हुने भएकाले चोरी, महिलामाथि हुने दुर्व्यवहार जस्ता गतिविधि सिसी क्यामराबाट निगरानी गरिने पौडेलले बताए ।

कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइने जनाइएको छ । रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्मका विभिन्न चोक र स्थानमा महानगरले जडान गरेका ३७ वटा सिसी क्यामराबाट निगरानी गरिने भएको हो ।

रोडशेषदेखि बरगाछीसम्म प्रहरीले जडान गरेका क्यामराबाट जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गरिनेछ । महानगरले जडान गरेका ३७ वटा क्यामराको प्रहरीले पनि निगरानी गर्नेछ ।

राधाकृष्ण रथयात्रामा हजारौंको सहभागिता हुने गरेको छ । रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिकाका साथ भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता हुन्छ ।

यसपटकको रथयात्रामा करिब ५ लाख भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!