संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

Advertisement

मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरे । ‘राई माइलाले गाउँ छोड्यो भनेर अब बिलौना गर्ने समय होइन’ मन्त्री राईले भने, ‘खेलाडी माइला माइलीहरूले गाउँमै बसेर खेल क्षेत्रमा रमाउने वातावरण कोशी प्रदेश सरकारले बनाउँछ ।’

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने उद्घोष गरे । बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने बताए ।

कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे । कोशी फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू, १४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!