संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो ।

Advertisement

बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी) लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य, गीत संगीत), गंगा सुवेदी (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य, रंगमञ्च) र शिवनारायण पण्डित सिंगललाई (मातृभाषा) कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

मेयर नागेश कोइरालाको प्रस्तावमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको नाम कार्यपालिकाले अनुमोदन गरेको थियो । त्यस्तै प्राज्ञसभा सदस्यमा प्रा.डा. हरिहर भण्डारी, हास्यव्यङ्ग्य कवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार रामबाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभलक्ष्मी लम्साल र कलाकार इन्द्र परियारलाई कार्यपालिका बैठकले मनोनित गरेको छ ।

महानगरले प्रज्ञा प्रतिष्ठान गठनका लागि गत पुसमा सम्पन्न नगर परिषद्बाट ‘विराटनगर प्रज्ञा प्रतिष्ठान ऐन–२०८०’ पारित गरेको थियो । सोही ऐनका आधारमा कार्यपालिका बैठकले प्रतिष्ठान गठन गरेको हो ।

पहिलोपटक गठन गर्दा कार्यपालिका बैठकले सिधै प्रतिष्ठान गठन गर्न सक्ने ऐनमा व्यवस्था छ । त्यसपछि भने प्रमुखको संयोजकत्वमा सिफारिस समिति गठन गरेर प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । सिफारिस समितिमा उपप्रमुख, कार्यपालिका सदस्यमध्येबाट २  जना, भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति मध्ये महानगर प्रमुखले तोकेको २ जना सदस्यसहितको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ । प्रतिष्ठानले विराटनगरका भाषा, साहित्य, कला, संस्कृति लगायतका क्षेत्रमा कार्य गर्ने मेयर कोइरालाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!