संगालोखबर

विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि बुढानीलकण्ठ माध्यमिक अङ्ग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् ।

Advertisement

विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयका आर्यन श्रेष्ठ दोस्रो, सगरमाथा माध्यमिक विद्यालयका भानु गौतम तेस्रो र एजेलिया माध्यमिक विद्यालयका प्रज्ञान गुरागाईं चौथो भए ।

प्रतियोगिताका संयोजक तथा स्पोर्टिङ्ग क्लबका कार्यसमिति सदस्य ग्याल्जेन डुक्पा लामाका अनुसार प्रतियोगितामा प्रथम हुने शर्मालाई ५ हजार १००, दोस्रो भएका श्रेष्ठलाई ३ हजार ६००, तेस्रो हुने गौतमलाई २ हजार १०० र चौथो स्थानका गुरागाईंलाई १ हजार १०० नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको उद्‌घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले खेलकुदले युवाहरूमा राष्ट्रिय एकता तथा भावनाको विकास गर्ने बताए । आयोजक स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले प्रतियोगिताको समापन गर्दै  विद्यालयस्तरीय प्रतियोगितासँगै क्लबले अझ व्यापक ढंगले विभिन्न खेलको प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई क्लबका अध्यक्ष कोइराला, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, वडा–११ वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, नेपाल खेलकुद महासङ्घका विज्ञ आयोग सदस्य दिपेश बास्तोला, सगरमाथा माविका प्रधानाध्यापक त्रिलोचन गौतम र कोशी प्रदेश बुद्धिचाल सङ्घका सदस्य राम मादेन लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!