संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरती शुभारम्भ हुने भएको छ । परमार्थ सिङ्घिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रबार सन्ध्याकालीन आरती गर्न लागेको हो । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रत्येक शुक्रबार र विशेष पर्वको दिन आरती गरिने जनाएको छ ।

Advertisement

समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आरतीको शुभारम्भ गर्ने जनाए । भोलिदेखि चार दिन नियमित रूपमा हुने गंगा आरती त्यसपछि भने प्रत्येक शुक्रबार हुने संयोजक कार्कीले बताए । साँझ ६ः३० बजेदेखि ७ः१५ बजेसम्म सञ्चालन हुने आरती पाँचजना आरती विशेषज्ञ गुरुबाट हुने उनले बताए । आरतीका संरक्षणकर्ता शंकर खरेलका अनुसार शुभारम्भ कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन आउने अनुमान छ ।

समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्न र निरन्तरता दिन २ ५१ सदस्यीय मूल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ । शुक्रबारको परमार्थ सिंघिया आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुली सहभागी हुने बताइएको छ ।

आरती सञ्चालनका लागि प्रत्येक पटक १५ हजारसम्म खर्च हुने आयोजकको अनुमान छ । सुरुआती चरणमा उक्त खर्च समितिबाट व्यवस्था गरिएको संरक्षणकर्ता लुइँटेलले बताए । उनका अनुसार सिङ्घिया नदीस्थित परोपकार घाटमा गत वर्ष ४०० जनाभन्दा बढीको अन्तिम संस्कार भएको उल्लेख गर्दै पितृ मोक्ष हुने धार्मिक आस्था र समाजबीच एकता कायम गर्नु पनि परोपकार घाटमै आरती गर्न लागिएको हो ।

समितिका महासचिव राजन न्यौपानेका अनुसार प्रशासनमा दर्ता गरिएको आरती सेवा समितिका हरहिसाब पारदर्शी हुने र मुनाफा नराखी धार्मिक पर्यटनलाई बढावा दिन र सामाजिक सद्भाव कायमै राख्न आरतीको आयोजना गर्न आँटिएको हो ।

दाता एवम् भक्तजनबाट सङ्कलित रकममध्ये उब्रिएको रकम परोपकार घाटकै विकासमा खर्च गर्ने आयोजकको योजना छ । भक्तजनबाट आउने भेटी बैङ्किङ प्रणालीमा जाने पनि उनको भनाइ छ । आरतीका मुख्य गुरु गोकुल भण्डारीले सन्ध्याकालीन आरतीको विशेष धार्मिक महत्व ज्यादै हुने बताउँदै आरतीमा सहभागी हुन सबैलाई अपिल गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!