काठमाडौं । सरकारले ५ भदौदेखि नेपालमै पहिलोपटक इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याइसकेको छ । तर, सरकारले निर्धारण गरेको इम्बोस्ड नम्बर जडान शुल्क भने छिमेकी भारतको तुलनामा १२ गुणा महँगो पाइएको छ ।

Advertisement

नेपाल सरकारले दुईपांग्रे सवारीसाधनमा २ हजार ५ सय रुपैयाँ, तीनपांग्रेको २ हजार ९ सय रुपैयाँ, हलुका सवारीसाधनको ३ हजार २ सय रुपैयाँ र ठूला सवारीसाधनको ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।

तर, नेपालभन्दा पाँच वर्षअघि नै सुरु गरेको सीमावर्ती भारतीय राज्य बिहारमा भने इम्बोस्ड जडान शुल्क निकै सस्तो छ । भारतमा दुईपांग्रे सवारीमा इम्बोस्ड नम्बर जडान गर्न नेपाली २ सय १० रुपैयाँ मात्र पर्छ । भारतका अन्य राज्यहरूमा समेत खासै महँगो नरहेको इम्बोस्ड नम्बरप्लेटको नेपाली शुल्क भारतमा भन्दा १२ गुणा बढी देखिएको छ ।

यातायात व्यवस्था विभागले बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने गरी सम्झौता गरेको छ । पाँच वर्षभित्र देशभरका सबै सवारीसाधनको परम्परागत नम्बरप्लेटलाई डिजिटल प्रणालीमा लैजाने विभागको योजना छ । आगामी मंसिरमा प्रदेश सभाको चुनाव भएर संघीयता संस्थागत हुन गइरहेका वेला नम्बरप्लेट भने अञ्चलकै नाममा कार्यान्वयनमा ल्याइएको छ ।

भारतमा कहाँ कति महँगो ?
६ वर्षअघिदेखि इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याएको भारतको बिहारमा नम्बरप्लेटको मूल्य दुईपांग्रेमा नेपाली २ सय ९ रुपैयाँ, तीनपांग्रेमा २ सय ५९ रुपैयाँ, हलुका तथा यात्रुबाहक कारका लागि ५ सय ३६ रुपैयाँ र मध्यम तथा भारी सवारीसाधनका लागि ४ सय ९६ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य सन् २०२१ सम्म लागू हुनेछ ।

दिल्ली : सन् २०१२ देखि लागू भएको दिल्लीमा दुईपांग्रे सवारीसाधनका लागि नेपाली १ सय ११ रुपैयाँ, तीनपांग्रेका लागि १ सय ३७ रुपैयाँ, हलुका सवारीसाधनका लागि ३ सय ४२ रुपैयाँ र मध्यम तथा भारी सवारीसाधनका लागि ३ सय ५२ रुपैयाँ तोकिएको छ ।

पश्चिम बंगाल : जनवरी २०११ देखि इम्बोस्ड नम्बरप्लेट लागू भएको पश्चिम बंगालमा दुईपांग्रे सवारीसाधनका लागि नेपाली ४ सय ५२, तीनपांगे्रका लागि ४ सय ७७, हलुका सवारीसाधनका लागि ७ सय ६ र व्यावसायिक सवारीसाधनका लागि ७ सय ५१ रुपैयाँ तोकिएको छ ।

मेघालयमा अदालतको आदेशमा घटेको थियो मूल्य
भारतको पूर्वोत्तर राज्य मेघालयमा एचएसआरपी परियोजना लागू गर्नेक्रममा अत्यधिक मूल्य तोकिएको भन्दै सार्वजनिक सरोकारको रिट दायर भएको थियो ।

तत्कालीन समयमा ‘सीमित उत्स्च’ नामक कम्पनीलाई दिइएको परियोजना आसामको तुलनामा ६ गुणा महँ्गो भएको आरोप रिटमा लगाइएको थियो ।

सो रिटउपर त्यहाँको उच्च अदालतले केही महिनाअघि मात्र मूल्य घटाउन आदेश दिइसकेको छ । सोही आदेशका आधारमा त्यहाँको सरकारले नम्बरप्लेटको मूल्य घटाएको छ । जसअनुसार हाल चारपांग्रेका लागि नेपाली ५ सय ८४ रुपैयाँ र दुईपांग्रेका लागि २ सय ५६ रुपैयाँ तोकिएको छ ।

त्यस्तै गत वर्ष मात्र चण्डिगढमा त्यहाँको प्रशासन र सम्झौतामा आएको कम्पनीबीच प्लेटको मूल्य विषयमा विवाद देखिएको थियो । त्यहाँका यातायात सचिवले दुईपांग्रे सवारीसाधनका लागि नेपाली ३ सय रुपैयाँ र चारपांग्रेका लागि ५ सय ६६ रुपैयाँको प्रस्तावलाई महँगो भएको भन्दै फिर्ता पठाइदिएका थिए ।

के हो इम्बोस्ड नम्बर ?
विशेष प्रविधिको सहयोगमा धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको नम्बरप्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिन्छ । त्यस्तो प्लेटमा नेपालको आफ्नो छुट्टै लोगो पनि अंकित छ ।

प्लेटको बीचमा माथि पर्ने गरी अञ्चलको नाम लेखिएको छ भने प्लेटको अर्को कुनातर्फ लेजर प्रिन्टरबाट ७ अंक भएको गोप्य नम्बरसहितको चिप जडान गरिएको छ । प्लेटको ठीक पछाडि बार कोड पनि उल्लेख छ ।

एकपटकका लागि यो नम्बरप्लेट जडान भएपछि पुनः यसलाई निकाल्न मिल्दैन । यसले गर्दा सवारीसाधनको चोरी हुने घटनामा पनि क्रमिक सुधार हुँदै जाने विश्वास लिइएको छ ।

यस्ता प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस (आइएफआइडी) जडान गरिएको हुन्छ । सवारीसाधनमा एम्बोस नम्बरप्लेट प्रणाली कार्यान्वयनका लागि आरएफआइडी स्टेसन आवश्यक पर्ने भएकाले उपत्यका भित्रिने पाँचवटा नाकामा र उपत्यकाबाहिर आरएफआइडी स्टेसन पनि स्थापना गरिने बताइएको छ ।

यस्ता डिभाइसका आधारमा सवारीसाधन कुन अवस्थामा कुन स्थानमा छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ती सवारीसाधनले तिर्नुपर्ने सम्पूर्ण राजस्व सरकारलाई तिरेको छ वा छैन, सवारीसाधन चोरिएको छ भने कुन स्थानमा छ भन्ने जानकारी विभाग र ट्राफिक कार्यालयले एक स्थानमा बसेर नियमन गर्न सक्छ ।

सरोकारवाला भन्छन् ?डा. टोकराज पाण्डेयप्रवक्ता, यातायात व्यवस्था विभाग
भारतमा भन्दा नेपालमा इम्बोस्ड नम्बरप्लेट महँगो हुनुको कारण छ । हामीले ठेकेदार कम्पनीलाई तिर्ने पैसा प्रतिप्लेट १६ देखि १९ अमेरिकी डलर मात्रै हो । सरकारले सञ्चालन खर्चस्वरूप अतिरिक्त रकम राखेको हो ।

त्यो अतिरिक्त भनिएको रकम सरकारकै राजस्वमा आउने हो । भारतमा भन्दा हामीले यहाँ लागू गरेको इम्बोस्ड नम्बरप्लेट सुरक्षा र अन्य विशेषताले उच्च गुणस्तरीय छ ।

आरएफआइडी स्टिकर, प्लेटको डिजाइनजस्ता कुराले हामीले प्रचलनमा ल्याएको नम्बरप्लेट उपयुक्त छ । भारतमा सबैभन्दा पहिला इम्बोस्ड नम्बर सुरु गरेको सिक्किम प्रदेशमा सबैभन्दा महँगो रहेको थियो ।-नयाँ पत्रिका

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!