संगालोखबर संवाददाता

इलाम । वैशाख १५ गते हुने इलाम–२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । साना–ठूला सभा, घरदैलो, कार्यकर्ता भेला जस्ता कार्यक्रमलाई तीव्र पारेका दल र स्वतन्त्र उम्मेदवारहरु मत आफ्ना पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।

Advertisement

प्रतिनिधिसभा सदस्य बन्नका लागि विभिन्न दलका १२ र स्वतन्त्र रुपमा ७ जना गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेको गढ एवं नेपाली कांग्रेसको पनि मुख्य प्रभाव क्षेत्र मानिने इलाम–२ मा यसपटक भने मुख्य प्रतिस्पर्धा चारजना उम्मेदवारबीच हुने देखिएको छ ।

अघिल्ला निर्वाचनहरुमा विजयी हुँदै आएका एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङको यो क्षेत्रमा हुने उपनिर्वाचनमा सबै दलको ध्यान र शक्ति केन्द्रित भएको छ । गत भदौमा नेम्वाङको निधन भएपछि उक्त क्षेत्र खाली भएकाले उपनिर्वाचन हुन लागेको हो ।

चुनावी मैदानमा उनै नेम्वाङका छोरा सुहाङ नेम्वाङ नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिं थेगिम मुख्य चर्चामा छन् ।

उक्त क्षेत्रमा एकीकृत समाजवादीबाट जीतबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि उम्मेदवारी दिएका छन् ।

इलाम–२ मा एमालेको सांगठनिक शक्ति बलिया मानिँदै आएको छ । सुहाङलाई माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ ।

गत स्थानीय चुनावमा इलाम–२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतका आधारमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् । कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा) ले ५५४, एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका थिए ।

२०७९ मा भएको आम निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आएको थियो । कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टीको १४१३, संघीय लोकतान्त्रिक मञ्चको १३२९, राप्रपाको ११९१, जसपाको ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।

२०७९ को चुनावमा एमालेका सुवास नेम्वाङसँग कांग्रेसका डम्बर खड्का ११४ मतले पराजित भएका थिए ।

यसपटक सुहाङलाई अझ सहज हुने एमाले इलामका सचिव उमेश गुरुङको दाबी छ । सम्भावना बोकेका युवा भएकाले मतदाताको आकर्षण रहेको भन्दै उनले जित सुनिश्चित भएको दाबी पनि गरे । सुहाङलाई सत्ता साझेदार दल नेकपा माओवादीको साथ रहेको अनि सुवासको निधनपछि सुहाङप्रति मतदाताको सहानुभूति रहेकाले सहज हुने नेताहरु बताउँछन् ।

एमालेइतर दलका नेताहरु भने पहिचानवादी उम्मेदवारले एमालेको मत तान्ने दाबी गर्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक गएर आमसभाहरुमा सहभागी भइरहेका छन् । ओलीको पहिचानविरोधी छविका कारण मत प्रभावित हुने कतिपयको बुझाइ छ ।

एमालेको जनमत रहेको माङ्सेबुङ फाकफोकथुम, चुलाचुली माई नगरपालिका लगायत क्षेत्रमा पहिचानवादी उम्मेदवार थेगिमको प्रभाव देखिएको छ । कोशी नामकरणपछि सडक संघर्षमा रहेका किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा सहितका संस्थाको समर्थन डकेन्द्रसिंह थेगिमलाई छ ।

थेगिमलाई जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले पनि समर्थन गरेका छन् । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईदेखि जनजाति कलाकर्मीहरुले पनि उनलाई सक्रिय रुपमा समर्थन गरिरहेका छन् ।

रास्वपाका उम्मेदवार लिम्बूका पक्षधरमा मुख्य पार्टीसँग असन्तुष्ट बनेका मतदाताहरु आकर्षित हुने आशा देखिन्छ । जनजाति समुदायकै उम्मेदवार भएकाले पनि उनीप्रति मतदाताको आकर्षण रहने रास्वपाका नेताहरुले बताउँदै आएका छन् ।

उता, कांग्रेस उम्मेदवार खड्कालाई जिताउन पार्टी पंक्ति एक भएर लागेको छ । विगतमा असन्तुष्ट बनेर निर्वाचनमा नसघाएको आरोप लागेका नेताहरुले पनि एकबद्ध भइ खड्काका पक्षमा सक्रियता बढाएकाले उनलाई सहज हुने कांग्रेसजन बताउँछन् ।

कांग्रेसले सुहाङलाई वंशवादको आधारमा अवसर पाएको भनेर आरोप लगाउँदै आएको छ । कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि भएको सभामा वंशवादको विरुद्धमा लडेका सुवास नेम्वाङकै छोरालाई चुनावी मैदानमा उतारिएको भन्दै चर्को आलोचना गरेका थिए ।

कांग्रेस नेता तथा पूर्वसांसद बेनुप प्रसाईं कांग्रेस एकताबद्ध भएकाले यसपटकको निर्वाचनमा विजय प्राप्त हुने विश्वास व्यक्त गर्छन् । ‘हिजो गठबन्धन गर्नुहुँदैन भन्ने आवाज उठेको थियो’ उनले भने, ‘हामी हार्यौँ भने गठबन्धन गर्नुपर्छ भन्नेहरूको आवाज दह्रो हुन्छ । त्यसकारण जसरी पनि जित्नुछ ।’

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा कूल मतदाता २ लाख २५ हजार ८० छन् । उपनिर्वाचन हुने इलाम–२ मा एक लाख १५ हजार ४ सय ६७ मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement