- संगालोखबर सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्व बजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् ।

क्यूवा र बङ्गलादेशले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई वार्षिक खर्बौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैँ सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे ।  नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई वार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले प्रस्तुत गरे । लाखौं युवाहरू मजदुरी गर्न खाडी मुलुक गइरहेको अवस्थामा देशमा डाक्टर, इन्जिनियरसहितका दक्ष जनशक्ति उत्पादन गरेर विश्व बजारमा पठाउँन सके १० वर्षभित्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने सांसद शर्माको आकलन छ ।

‘क्यूवा, बंगलादेश जस्ता मुलुकले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई वार्षिक खर्बौं पैसा देशमा भित्र्याइरहेका छन्,’ सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद शर्माले भने, ‘विश्व बजारमा बेच्न सकिने हाइड्रोपावर भन्दा पनि हटकेकको रुपमा यो क्षेत्र छ, मुलुकलाई समृद्ध बनाउँन सरकारले यो विषयमा ध्यान दिओस् ।’

बजेटले, विपन्न र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ जस्ता राम्रो शिक्षा पढ्न केही सहजिकरण नगरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकारी अस्पतालमा मात्र स्वास्थ्य बिमाको उपचार हुने भनेर सरकारले बिमामा पनि व्यापार गरेको भन्दै सांसद शर्माले आक्रोश पोखे । विभिन्न बाहनामा मेडिकल कलेजमा सिट संख्या कटौती गर्ने गरिएको प्रति पनि सांसद शर्माले आपत्ति जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!