- संगालोखबर सम्वाददाता

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि भोजपुरका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो ।

दुई/चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।

गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए । विगतमा निराशा थपिएको भएपनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाई छ । ‘चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ’, उनले भने, ‘विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन रु सात/आठ हजारमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन रु ३० हजारका दरले बिक्री भयो ।’ बीस रोपनी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाई छ । बजारमा त्यो भन्दा राम्रो मूल्य भएपनि किसानले भने जस्तो मूल्य अझै नपाएको उनी बताउँछन् । किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ ।

‘किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ’, उनले भने, ‘बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको बिर्तामोडमा पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।’ टेम्केमैयुङ गाउँपालिका–१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए । यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यवसायिक खेतीमा लागेका छन् ।

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताउँछन् । यहाँका एक जना कृषकले औसतमा २० देखि ५० मन (४० केजीको एक मन) सम्म उत्पादन गर्ने उनले बताए । यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाई छ । ‘मैले यो वर्ष रु पाँच लाख बढी आम्दानी गरेँ’, उनले भने, ‘मैले सुरुमा प्रतिमन रु २६ हजारले बेचेँ, अहिले प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए । आलु, मकैबाट रु ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे रु पाँच लाखदेखि रु सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाई छ । ‘पराम्परागत रूपमा खेती गरिरहेका छौँ’, बस्नेतले भने, ‘यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खासै सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।’

बर्सेनि आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी गोमादेवी विष्टले बताइन् । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उनको भनाई छ ।

यस वर्ष यहाँबाट ५० हजार दुई सय ६२ किलो चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ । बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ । यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ ।

भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यवसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिला लगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!