- संगालोखबर सम्वाददाता

भोजपुर । अन्तर्राष्ट्रिय बजारमासमेत माग हुने गरेको भोजपुरे खुकुरीको माग अनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालिगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ ।

Advertisement

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालिगढ पेसा लोप हुने अवस्थामा पुगेको छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमे लगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्व बजारमासमेत प्रख्यात छन् । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम १ हजारदेखि अधिकतम १० हजारसम्म मूल्य पर्ने व्यवसायीको भनाइ छ ।

विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, ‘विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’

कालिगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठले बताए । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

दशक अघिसम्म धेरै कालिगढ भए पनि पछिल्लो समयमा व्यवसायिक रूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालिगढ हर्कबहादुर विश्वकर्माले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!