संगालोखबर सम्बाददाता

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज भएको मतदानमा धनकुटामा ५९ प्रतिशत मात्र मत खसेको छ । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको जिल्लामा ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका हुन् ।

Advertisement

कुल मतदाता सङ्ख्याको आधारमा ५९ दशमलव ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज प्रधानले बताए । ‘यो प्रारम्भिक डाटा हो, अहिले डाटा कलेक्सन र भेरिफाइ गर्ने काम भइरहेको छ,’ प्रधानले संगालोखबरसँग भने, ‘यसमा केही संख्या तलमाथि पनि हुनसक्छ ।’

मतदाता नामावलीमा नाम दर्ता रहेका धनकुटाका मताधिकार प्राप्त ४७ हजार ४ सय ९५ जना मतदाता मतदानमै सहभागि भएनन् । तथ्यांक अनुसार ४० दशमलव ५९ प्रतिशत मतदाताले मतदान नगरेका हुन् । गत स्थानीय तह निर्वाचनमा ६६ प्रतिशत भन्दा बढीले मतदान गरेका थिए । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भने मतदान घटेको हो ।

धनकुटामा ५८ हजार ५ सय ४६ पुरुष र ५८ हजार ४ सय ४५ महिला मतदाता छन् । जिल्लामा मतदानका लागि ११९ स्थानमा १६४ मतदान केन्द्र तोकिएको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी २ हजार ४९५ सुरक्षाकर्मी परिचालन गरिएको थियो । मतदान केन्द्रहरूमा १ हजार ३ सय ४ जना कर्मचारी खटाइएको थियो ।

मतदान सकिएपछि अहिले धनकुटा सदरमुकामको सामुदायिक भवनमा मतपेटिका ल्याउने काम भइरहेको छ । नजिक क्षेत्रका मतपेटिका आइपुगेका छन् भने टाढाको मतपेटिका आउँन मध्यरातसम्म लाग्ने देखिएको छ । सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मत गणना थाल्ने समयको टुंगो लगाइनेछ । सम्भवत आजै राती वा भोलि बिहानसम्ममा मतगणना थालिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!