धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ सिखरकटेरीमा गएराती केही व्यक्तिहरुले टिपरमा तोडफोड गरेका छन् । आवतजावतमा अवरोध पुर्याएको भन्दै युवाहरुले ना ८ ख ५८०२ नम्बरको टिपरमा तोडफोड गरेका हुन् ।
सो क्षेत्रमा हालसालै सडक कालोपत्रे भएको छ । भर्खरै सडक कालोपत्रे भएको ठाउँमा अन्य गाडी गुड्न नदिइ अर्कै घुमाउरो र लामो बाटोबाट गाडी लैजान भनेपछि आक्रोशित युवाहरुले टिपरमा तोडफोड गरेको बताइएको छ । तोडफोडबाट टिपरको अगाडि, झ्याल र हेडलाइटको सिसा फुटेको छ । ढुंगामुडा प्रहार गर्दा टिपरको अन्य भागमा पनि क्षति पुगेको छ । टिपर तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।
उजुरी आएकाले टिपरमा तोडफोड गर्नेहरुको खोजी भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए । ‘भर्खरै कालोपत्रे गरेको बाटोबाट गाडी लैजान नदिई अर्कै घुमाउँरो बाटोबाट जान भनेपछि आक्रोशित स्थानीय युवाहरुले सडक कालोपत्रे गर्ने काममा प्रयोग भइरहेको टिपरलाई तोडफोड गरेको भन्ने कुरा आएको छ,’ डीएसपी रायले संगालोखबरसँग भने, ‘तोडफोडमा को–को संलग्न थिए भन्ने यकिन भएको छैन, हामी थप बुझ्दैछौ ।’