धनकुटा । प्रहरी हिरासतमा रहेका पाख्रीवास नगरपालिका वडा नं.४ का वडाध्यक्ष सोवित निरौला शुक्रबार धरौटीमा छुटेका छन् । पाख्रीवासको नगरसभामा तोडफोड गरेको आरोपमा आफुविरुद्ध मुद्दा दायर भएपछि प्रहरीसमक्ष गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई प्रशासनले ४० हजार धरौटीमा रिहा गरेको हो । रिहाईपछि समर्थकहरुले उनलाई खादा र अविर लगाएर स्वागत गरेका छन् ।
राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकेर विभेद गरिएको भन्दै विवाद चर्किएका बेला गत असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा तोडफोड भएको थियो । बजेटमा विभेद गरिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले नगरपालिका परिषरमा प्रदर्शन गरेका थिए । सोही बेला नगर सभा चलिरहेको हलमा प्रवेश गरी हुलदंगा र तोडफोड गरिएको थियो ।
घटनापछि तोडफोडको आरोपमा नगरपालिकाको तर्फबाट वडाध्यक्ष निरौलासहित १५ जनाविरुद्ध प्रहरीमा उजुरी दिइएको थियो । आफुविरुद्ध उजुरी परेपछि वडाध्यक्ष निरौलाले असार १७ गते प्रहरी समक्ष गिरफ्तारी दिएका हुन् । ८ दिनको हिरासत बसाईपछि प्रशासनले धरौटी रकम लिएर वडाध्यक्ष निरौलालाई छोडेको हो ।
उजुरी परेका वाँकी १४ जना भने अझै पक्राउ परेका छैनन् । उनीहरुविरुद्ध दर्ता भएको मुद्दा खारेज गरिनुपर्ने मागसहित चार दल सम्मिलत संयुक्त लोकतान्त्रिक गठबन्धनले आन्दोलन गर्दै आएको छ । यता, नेकपा एमालेले भने तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउँनुपर्ने माग गरिरहेको छ ।