कब्जियत भएमाः हर्रो, बर्रो र अमलाबाट निर्मित त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने बेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ ।

Advertisement

झाडापखला लागेमा : बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) तीन देखि छ ग्राम, रस १०-२० मि.लि. खानाले दिसाको साथमा रगतआउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ । साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ ।

वाकवाकी एवं बान्ता भएमा : वाकवाकी, उल्टी हुदाँ दालचिनि वा सुकमेल प्रयोग गर्न सकिन्छ । शुद्ध दालचिनी वा सुकमेलको धुलो १-३ ग्राम प्रयोग गर्न सकिन्छ । अदुवाको रस वा सुकेको अदुवाको धुलो प्रयोग गर्न सकिन्छ ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा : ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रतिदिन दुइपटक कुनै खाना वा अन्य पेयपदार्थमा राखेर प्रयोग गर्न सक्नु हुन्छ । पुदिनाको स्वरस १०-२० मि.ली. र लेदो एक देखि तीन ग्राम प्रयोग गर्न सकिन्छ । बोझो चूर्ण एबं धुलो १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अरूची रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिंदा फाइदा हुन्छ ।

ग्याष्ट्रिक (अम्लपित्त भएमा) : अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्राम सम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ । आयुर्वेदिक औषधि अभिपत्तिकर चुर्ण तीन देखि छ ग्राम साँझ बिहान प्रयोग गर्न सकिन्छ ।

रुघाखोकी लागेमा : असुरोको पात वा फुलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ । ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ ।

रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि ज्वानोको झोलले खकार निकाल्न मद्दत गर्छ । अदुवाको धुलो दुई देखि तीन ग्राम दिनको दुईपटक श्वास प्रश्वास समस्याहरुमा प्रयोग गर्ने सकिन्छ । सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (पाँच देखि दश मि.लि.) मा मह मिसाएर दिनको दुई देखि तीन पटक सेवन गर्दा सर्दी, खोकी, रूघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ ।

रक्तचाप बढेमा : जटामासी, निम वा सर्पगन्धा जडिबुटीको धुलो एक देखि तीन ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । लसुनको लेदो एक देखि दुई ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ ।

मधुमेह (चिनी रोग बढेमा) : चिनी रोगीहरुले मेथीको रस खाने बानी गर्ने । मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बिजलाई पिधेर तयार गरिएको एक देखि तीन ग्राम लेदोलाई दिनमा दुई पटक सेवन गर्दा पनि फाइदा गर्छ । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो तीन ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरु प्रयोग गर्दा खानपानलाई पनि ध्यानदिनु जरुरी छ ।

मधुमेह, उच्च रक्तचाप र अन्य जिर्ण रोगीहरुले आहारविहारलाई ध्यान नराखी औषधि वा जडिबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन । जडिबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका जडिबुटी प्रयोग गर्दा झन् स्वास्थ्यलाई असर पार्न सक्दछ । यसबारे पनि सचेत हुन जरुरी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!