सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका किसानले व्यवसायिक रूपमा लगाएको चिया बिक्री नभएपछि बगान झाडीमा परिणत भएको छ । उचित बजार मूल्य नपाएपछि चिया बगानमै खेर गएको हो ।

अन्य बाली छाडेर चिया लगाएका कृषकहरू बिक्री नहुँदा थप समस्यामा परेका छन् । कृषकहरूले निजी जग्गामा न्यूनतम १० रोपनी क्षेत्रफलमा चिया खेती बिस्तार गरेका छन् ।

Advertisement

चिया बिक्री नहुँदा गोडमेल तथा छाँटकाँट नगरेका कारण बगानमै फुल्दै गएको पाख्रीबास राम्चेका कृषक गोविन्द बहादुर थापाले बताए । २०५५ सालदेखि चिया खेती विस्तार गरेका उनले सोचे अनुरूप मूल्य नपाउँदा घाटा ब्यहोर्न बाध्य भएको बताए ।

‘चिया बगानमा मजदुर लगाउँदा आउने खर्च समेत पुग्ने अवस्था छैन’, उनले भने, ‘स्थानीय सरकारले सहयोग नगरेका कारण थप समस्या निम्तिएको हो । चिया बगान नै झाडीमा परिणत भइसकेको अवस्था छ ।’

पाख्रीबासका अर्का कृषक धनबहादुर बस्नेतले पनि करिब १० रोपनी क्षेत्रफलमा चिया खेती लगाएका छन् । तर चिया बिक्री नहुँदा बगानमै नष्ट भएको उनले बताए । अहिले चिया खेती हटाएर अन्य बाली लगाउने अवस्था पनि नरहेको उनले सुनाए ।

‘चिया पनि बिक्री नहुँदा घाटा ब्यहोर्न बाध्य छौँ’, उनले भने, ‘चिया हटाएर अन्य बाली पुनः लगाउने अवस्था पनि छैन । चिया फाँडेर अन्य बाली लगाउँदा अझ धेरै खर्च लाग्छ ।’ करिब ३/४ वर्षदेखि बगान छाँटकाँट नहुदाँ बढेर जंगल भएको बस्नेतले बताए ।

पाख्रीबासका अर्का कृषक विमल राईले पनि करिब १५ रोपनी क्षेत्रफलमा व्यवसायिक रूपमा चिया खेती बिस्तार गरेका छन् । चिया उद्योगले उचित मूल्य नदिँदा आफूहरूलाई समस्या थपिएको उनले बताए । उनले पनि करिब ३ वर्षदेखि चिया बगान गोडमेल र छाँटकाँट गरेका छैनन् ।

पाख्रीबास नगरपालिका-४ र ७ को सिमानामा रहेको राम्चे अर्गानिक चिया उत्पादन सहकारी संस्थाले केही वर्ष अगाडिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । स्थानीय किसानले उत्पादन गरेको चिया सोही उद्योगले खरिद गर्ने हुँदा समस्या थिएन ।

तर उक्त चिया उद्योगमा विद्युत सेवा नपुगेका कारण लामो समयदेखि जेनेरेटरबाट सञ्चालन हुँदै आएको थियो । डिजेल, पेट्रोलको भाउ बढेसँगै उक्त उद्योग बन्द भएपछि त्यसको प्रत्यक्ष असर स्थानीय किसानमा परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!