विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मोरङमा तयारी अन्तिम चरणमा पुगेको छ । आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरू र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेको छ । भोलिदेखि मोरङका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरू खटिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिए ।

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम सम्पन्न भइसकेको छ । निर्वाचनमा खटिने ५ हजार ३ सय ४६ कर्मचारीले नियुक्तिपत्र लिइसकेका छन् ।

जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रबन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दंगालले जानकारी दिए । यस पटक मोरङका ६ वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्बन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो ।

प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नं. ३ को बेलबारीस्थित भगवती मावि, क्षेत्र नं. ४ को जनता नमुना मावि विराटनगर, क्षेत्र नं. ५ का सुनसरी-मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नं. ६ को आदर्श माविमा मतगणना हुनेछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिका, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८ सय ५१ जना  एकीकृत सुरक्षा योजना अनुसार परिचालन गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘व्यालेटको सुरक्षाको लागि वुलेट’ समेत प्रयोग गर्न सकिने बताए ।

कसैले ब्यालेट खोस्न खोजे गोली चल्ने उनले बताए । सुरक्षाका दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरि वर्गीकरण गरिएका मतदान केन्द्रहरूमा सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ ।

मोरङको सहायक प्रमुख जिल्ला अधिकारी अनुगमन अधिकृत सरोज कोइराला, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख तथा अनुगमन अधिकृत तोमनाथ उप्रेतीले आचार संहिताको पालनमा सचेत र सजग रूपमा कार्यान्वयन गराएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले आचारसंहिता उल्लंघनका घटनाहरूबारेमा उजुरी आउनासाथ स्पष्टीकरण सोधिएको जानकारी दिए । अनुगमन अधिकृत उप्रेतीले मोरङका ११० जना उम्मेदवार मध्ये ६० जनाले मात्रै निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा ल्याएको जानकारी दिए । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!