संगालोखबर संवाददाता

विराटनगर,२६ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्नुहुने भएको छ ।

Advertisement

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर विद्यार्थी बालबालिकाले सहभागिता जनाउने र त्यसका लागि सबै तयारी पूरा भइसकेको आयोजक समितिका क्षेत्रीय संयोजक शिवकुमार पौडेलले बताउनुभयो ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा आयोजना हुने ज्याम्बोरेटमा सहभागी बालबालिकालाई साहसिक, सांस्कृतिक र मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै राष्ट्रिय एकता मजबुत गरी समाजमा भाइचारा कायम गर्नु ज्याम्बोरेटको मुख्य उद्देश्य रहेको संयोजक पौडेलको भनाइ छ ।

क्याम्पस हातामा ४० वटा बेस—क्याम्प निर्माण गरी स्काउटर बालबालिकालाई आपत् विपत्मा सहयोग गर्ने स्वयंसेवी बन्नका लागि आत्मबल बढाउन सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने आयोजक सदस्य नवलप्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

यसअघि विसं २०५९ मा धरान र २०६९ मा झापाको दमकमा ज्याम्बोरेट सम्पन्न भएको थियो । पाँचदिने उक्त ज्याम्बोरेट सम्पन्न गर्न करिब रु २५ लाख खर्च लाग्ने आयोजक समितिका सदस्य किरण गिरीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement