संगालोखबर संवाददाता

ढाका । सरकारी निर्देशन लत्याउँदै बंगलादेशको प्रहरीले म्यानमारबाट भागेर आइरहेका रोहिन्ग्या मुस्लिमहरुलाई देशमा प्रवेश गर्न दिइरहेको  छ ।

Advertisement

कोक्स बाजारका अनुसारहजारौँको संख्यामा रोहिन्ग्या मुस्लिम समूदाय म्यानमारबाट बंगलादेश प्रवेश गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीहरुको संख्या ५८ हजारभन्दा माथि पुगेको छ ।

म्यानमारको अल्पसंख्यक रोहिन्ग्या मुस्लिम समूदाय बसोबास गर्ने रखाइन राज्यमा एक हप्ताअघि हिंसा शुरु भएको थियो ।

शरणार्थीहरुले बौद्ध धर्मावालम्बी र म्यानमारको सुरक्षाकर्मीले उनीहरुको गाउँ जलाइरहेको आरोप लगाएका छन् ।

यता, म्यानमार सरकारले भने सुरक्षाकर्मीहरुले गत महिना २० वटा प्रहरी पोष्टमा रोहिन्ग्या विद्रोहीहरुले गरेको आक्रमण विरुद्ध कारवाही मात्र गरिरहेको भन्दै बचाऊ गरेको छ ।

द्वन्द्वका कारण सर्वसाधारणहरु राज्य छाडेर भाग्न बाध्य भएका छन् ।

थप २० हजार रोहिन्ग्या शरणार्थी बंगलादेशको सीमामा रहेको नाफ नदी किनारमा अड्किएको बताइएको छ ।

मानवअधिकारवादी संस्थाहरुले उनीहरुको जीवन खतरामा रहेको बताएका छन् ।

ह्युमन राइट वाचका अनुसार भूउपग्रहबाट लिइएको तस्विरमा एउटै रोहिन्ग्या गाउँमा ७ सयसम्म घर जलेको देखिएको थियो ।

रखाइन म्यानमारको सबैभन्दा गरिब क्षेत्रमा पर्दछ । उनीहरु लामो समयदेखि बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको देशमा उत्पीडनमा परिरहेका छन् । उनीहरुलाई राज्यले देशको नागरिकसमेत मान्दैन ।

पछिल्लो समय यस क्षेत्र हिंसाबाट पीडित बन्दै आइरहेको छ । सन् २०१६ को अक्टुबरमा सीमा पोष्टमा गरिएको आक्रमणमा नौ प्रहरीको मृत्यु भएको थियो । तर, त्यस यता सशस्त्र विद्रोहको संकेत देखिएको थिएन ।

तर, अगस्त २५ मा अराकान रोहिन्ग्या साल्भेसन आर्मी (आर्सा) ले प्रहरी पोष्टमा पुनः आक्रमण गरेपछि हिंसा थप भड्किएको छ ।
आर्सालाई सरकारले आतंकवादी समूह भएको बताएको छ भने यता आर्साले आफूहरु रोहिन्ग्याको रक्षक भएको दाबी गरिरहेको छ ।

सूकीलाई बोरिसको चेतावनी
यता, बेलायतका विदेश सचिव बोरिस जोन्सनले आङ सान सूकीलाई देशमा मुस्मिलहरुमाथि भइरहेको अत्याचारले देशको प्रतिष्ठामा आँच पुर्याइरहेको चेतावनी दिएका छन् ।

जोनसनले सूकीलाई रखाइन राज्यमा मुस्लिम समूदायमाथि भइरहेको ज्यादति अन्त्य गर्न आग्रह पनि गरेका छन् ।

नोबल शान्ति पुरस्कर विजेता सूकी हाल म्यानमारको स्टेट काउन्सिलर रहेकी छिन् ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement