काठमाडौं । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।
स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् भने ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सबै गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।
मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि मुलुक संघीय संरचनामा आएपछि पहिलोपटक २०७४ मा स्थानीय तह निर्वाचन भएको थियो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेका छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् । स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।
यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् । निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । यस्तै, निर्वाचनमा ६५ हजार ८ सय ६५ स्वयंसेवक पनि खटिएका छन् भने निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन् । – राजधानी दैनिकमा समाचार छ ।