काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए ।
एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, गौतम एमाले र एकीकृत समाजवादी दुवै दलमा सहभागी नभई राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए । राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमको अभियानमा जोडिएका नेताहरू कोही एमाले र कोही एकीकृत समाजवादीमा लागेका थिए । गौतमकी श्रीमती तुलसा थापा सघीय सांसदसमेत हुन् । उनी एमालेमै रहेकी छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गौतमले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई मतदान गर्न भन्दै गीत लेखेर आफूलाई एकीकृत समाजवादीको पक्षमा उभ्याएका छन् । ‘जनता जगाउने, कलममा छाप लगाउने’ बोलको गौतमको शब्द रहेको गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण केसीको स्वर र संगीत रहेको गीतमा जुना श्रीष मगरले गायनमा साथ दिएकी छन् । गीतको भिडियोको कभरमै गौतमको तस्बिर राखिएको छ भने भिडियोमा पनि गौतमलाई देखाइएको छ ।
गौतमले लेखेको सो गीत सामाजिक सञ्जालमा सेयर गर्दै समाजवादीका अध्यक्ष नेपालले ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपिल गरिएको गीत भनेर लेखेका छन् । समाजवादीका नेताहरूले सो गीत सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।
यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउने अभियानमा जुट्न आग्रह गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले महानगरपालिकादेखि वडा तहसम्म गठबन्धनका साथै पार्टीका तर्फबाट एकल उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन भूमिका निर्वाह निर्देशन दिने निर्णय भएको महासचिव डा. बेदुराम भुसालले बताए ।
यसैगरी, गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने, गठबन्धन नभएको र पार्टीबाट एकल उम्मेदवार पनि नभएका स्थानमा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्ति’का विरुद्ध मतदान गर्ने निर्णय भएको उनले बताए । – आजको राजधानी दैनिकमा समाचार छ ।