रबिन कटेल

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उप-महानगरपालिकाको प्रमुख र उप-प्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ।

Advertisement

विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ। महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो।

यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको थियो। विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए। २०७४ सालमा जसपा ६, नेकपा (एमाले) ३, माओवादी केन्द्र १ वटा वडामा विजयी भए। स्वतन्त्र उम्मेदवारले २ वटा वडाध्यक्ष जिते।

यसअघिको परिणाम र यसपटक संगठन झन् मजबुत भएको आँकलन गर्दै कांग्रेसले विराटनगरमा कोहीसँग पनि तालमेल आवश्यक नरहेको भनेर निर्णय गरेको थियो। विराटनगरको मेयरमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दीरा कार्की, दीपक चापागार्ईं र गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेकामध्ये संग्रौला, अर्याल, कोइराला र पराजुली मुख्य दाबेदार हुन्।

उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ। सिफारिसमा परेकामध्ये अहिले भीम पराजुली मेयर र इन्दिरा कार्की उपमेयर छन्। तालमेलका क्रममा विराटनगरको उपमेयर पाएको जसपाले भने उम्मेदवार सिफारिस गरिसकेको छैन।

कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंले गठबन्धनको निर्णय अस्वीकार गरिने बताए। ‘हामीलाई गठबन्धन चाहिँदैन। निर्णय कुनै पनि हालमा स्वीकार गर्दैनौं,’ उनले भने, ‘सरकारमा रहेका गठबन्धनका नेताहरू बसेर भएको निर्णय हो। हामी कांग्रेसका कार्यकर्ता हौं।’ पार्टी केन्द्रबाट महानगर समितिमा गठबन्धनको निर्णयका बारेमा कुनै पनि परिपत्र प्राप्त नभएको सभापति चापागाईंको भनाइ छ। ‘विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने हाम्रो अडान हो।’

२०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि विराटनगरमा कांग्रेस एक्लै चुनावमा होमिएको थियो। एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो।

कास्की कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी
गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले पोखरा महानगरपालिकाको मेयर पद नपाएपछि कास्की कांग्रेस कार्यसमिति, नगर समितिका पदाधिकारीको असन्तुष्टि सतहमै बाहिर आएको छ। पोखरा महानगरपालिकाको मेयरको पद गठबन्धनको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कोटामा परेको छ।

असन्तुष्ट कास्की कांग्रेसका पदाधिकारी र कार्यकर्ताले बुधबार पोखराको महेन्द्र पुलस्थित कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाएका छन्। ताला लगाउनुका साथै थप आन्दोलन गर्ने पोखरा महानगर सचिव गणेशबहादुर थापा र टुवराज बाँस्तोलाले बुधबार ध्यानाकर्षणपत्रमार्फत जानकारी गराए।

पार्टीका कार्यकताको भावनाविपरीत कांग्रेस एक्लै लड्दा पनि जितिने पोखरा महानगरको मेयर अरू पार्टीलाई दिएकोले ताला लगाएको बताइएको छ। पार्टी सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशका पार्टी सभापति र जिल्ला सभापतिलाई समेत किनाराको साँची राख्दै नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर पदमा प्रस्ताव गरिएको भन्ने सञ्चारमाध्यमबाट जानकारी भएपछि अपेक्षित भएको महसुस गरको बताएका छन्।

केन्द्रीय समितिलाई पोखराको मेयर पद अर्को पार्टीलाई दिने निर्णयलाई पुनः विचार गर्न अनुरोध गरेको कांग्रेस जिल्ला सचिव भानु ढकालले बताए। यसै विषयमा बुधबार कास्कीका अग्रज नेताहरूको समेत उपस्थितिमा नगर बैठक बस्यो। बैठकमा जिल्ला नेताहरूले असन्तुष्ट पक्षलाई गठबन्धनको मर्म बुझिदिन अनुरोध गरेको बताइएको छ।

बैठकमा गठबन्धन भत्कने गरी अघि बढ्न नहुने विषयमा छलफल भएको कास्की कांग्रेसका जिल्ला सदस्य र मेयरका आकांक्षीसमेत रहेका गंगाधर पराजुलीले बताए।

समाजवादीले पाए कांग्रेस एक्लै लड्ने
हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले मेयर नपाए एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने चेतावनी दिएको छ। केन्द्रीय गठबन्धनमा हेटौंडा उपमहानगरका नेकपा एसलाई दिने सहमति भएपछि हेटौंडा कांग्रेस असन्तुष्ट भएको हो।

कांग्रेस हेटौंडा उपमहानगर समितिले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर समाजवादीलाई छाड्ने नसक्ने जनाएको छ। ‘मंगलबार हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरेका छौं’, नगर सभापति उत्सव इटनीले भने, ‘पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई बेवास्ता गर्दै सहमति गरेको छ। यो सहमति हामी मान्न सक्दैनौं।’

नगरको गठबन्धनमा आबद्ध दलहरूमध्ये सबैभन्दा ठूलो पार्टी कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरूसमेत तयारी रहेको अवस्थामा केन्द्रीय स्तरमा भएको भागबण्डाले कांग्रेस नगर समिति पूर्ण असन्तुष्ट बनेको सभापति इटनीले बताए।

कांग्रेस मकवानपुरका सपभाति बुद्ध लामाले भने केन्द्रीय सहमतिअनुसार अघि बढ्ने बताएका छन्। कांग्रेस मकवानपुरले १० स्थानीय तहमध्ये हेटौंडाको मेयर पहिलो प्राथमिकतामा राखेर स्थानीय तहमा छलफल अघि बढाइरहेको थियो। मेयरमा कांग्रेसबाट आनन्दराम पराजुली र प्रभात दाहाल आकांक्षी छन्।

एकीकृत समाजवादीबाट मेयरमा वर्तमान उपमेयर मिना लामा, जिल्ला अध्यक्ष श्रीधर पोखरेल र केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य मुनु सिग्देलको दाबी छ। – आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement