रबिन कटेल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।  स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

‘एक महानगरपालिकामा एकीकृत समाजवादीले मेयर नपाए चुनावी तालमेलको छलफलमा सहभागी नहुने जानकारी अध्यक्ष कमरेड (माधव नेपाल)लाई उहाँ (भुसाल र पौडेल)ले गराउनुभयो,’ सचिवालय बैठकमा सहभागी एक सदस्यले भने, ‘त्यसपछि अध्यक्ष कमरेडले पनि एक महानगरमा नेतृत्व नपाए अब छलफलको कुनै आवश्यकता नभएको बताउनुभयो ।’

एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् ।

नेपालले गठबन्धनभित्र सहमति हुन नसकेमा एक्लै लड्नुपर्नेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । गठबन्धन दलकै बीचमा सहमति हुन नसकेको अवस्थामा एक्लै चुनावमा होमिनुपर्ने बताउँदै उनले सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् ।

अध्यक्ष नेपाल चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने अडानमा छन् । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।

संयन्त्रको बैठकमा सहभागी महासचिव भुसाल र उपमहासचिव पौडेलले पोखरा महानगरपालिकासहित तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेका छन् । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीले चेतावनीसमेत गठबन्धनका अन्य नेतालाई दिएका छन् ।

बैठकमा नेताहरूले पोखरा महानगरसहित इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरका उम्मेद्वारहरू आफूहरूलाई चाहिने दाबी एकीकृत समाजवादीको छ । एकीकृत समाजवादीका महासचिव भुसालले बृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसद्मा ८२ सिट दिएको स्मरण गर्दै आफूहरूको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।

तर, गठबन्धनमा रहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतकाले शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीलाई महानगरमा नेतृत्व दिन नसकिने संकेत गरेपछि अध्यक्ष नेपालले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै व्यक्त गरेका हुन् ।

नेपालले अरू पार्टीले २०७४ सालको चुनावमा आ–आफ्नै पार्टीको तर्फबाट भाग लिएको भए पनि आफ्नो पार्टीले एमालेका रूपमा भाग लिएको स्मरण गराउँदै एमालेको सफलतामा आफूहरूको हक लाग्ने अडान लिँदै आएका छन् । एमालेले प्राप्त गरेको सफलतामा आफूहरूको हक लाग्ने अडान लिँदै अरू दलभन्दा आफूहरूले नै एमालेको मत आकर्षित गर्न सक्ने नेपालले प्रस्ट पारेका छन् ।

तर, पोखरा महानगरपालिकाको मेयर छाड्ने अवस्थामा कांग्रेसका स्थानीय नेताहरू छैनन् । उनीहरूले देउवालाई भेटेरै पोखराको मेयर नछाड्ने अवगत गराउँदै एकीकृत समाजवादीलाई मेयर दिए विद्रोह हुन सक्ने चेतावनी दिइसकेका छन् । साथै एकीकृत समाजवादीलाई दिँदा एमालेले जित्ने जानकारी उनीहरूले देउवालाई गराएका छन् ।

एकीकृत समाजवादीका महासचिव भुसालले एकीकृत समाजवादीको संगठन ७७ जिल्ला, ७ सय ५३ पालिकामै रहेको बताउँछन् । साथै ६ हजार ७ सय ४३ वडामा एकीकृत समाजवादीको संगठन विस्तार भएको छ । एमालेले जितेका पालिकामध्ये ५० प्रतिशतमा एकीकृत समाजवादीको दाबी रहने उनले स्पष्ट पारेका छन् ।

एमालेले गत निर्वाचनमा काठमाडौं र पोखरा गरी दुईवटा महानगरपालिकामा विजयी भएको थियो । त्यसैले ५० प्रतिशतको आधारमा एकीकृत समाजवादीले एक महानगरपालिकामा मेयर नपाए गठबन्धनको छलफलमा सहभागी नहुने अडान भुसालको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत यही सिद्धान्तका आधारमा ५० प्रतिशत नेतृत्व आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ ।

तर, यस हिसाबले एकीकृत समाजवादीलाई नेतृत्व दिँदा माओवादीभन्दा बढी हुने भएकाले माओवादीका अध्यक्ष प्रचण्डसमेत आनाकानी गरिरहेका छन् । यसरी भागबन्डा गर्दा कांग्रेसपछि एकीकृत समाजवादी दोस्रो र माओवादी तेस्रो हुन्छ ।

२०७४ को स्थानीय निर्वाचनमा एमाले २ सय ९४ पालिका जितेको थियो । कांग्रेसले २ सय ६६, माओवादी केन्द्रले १ सय ६, तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीले ३४ पालिकामा जितेको थियो । जनमोर्चाले ३, बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ र स्वतन्त्र ४८ पालिकामा चुनाव जितेका थिए ।

एमालेले जितेकाका ५० प्रतिशत दाबी गर्दा एकीकृत समाजवादीको भागमा १ सय ४७ पर्छ । जुन गत निर्वाचनमा माओवादी केन्द्रले जितेको भन्दा बढी हुन्छ । यस हिसाबले गठबन्धनभित्रको कांग्रेसपछिको शक्तिशाली एकीकृत समाजवादी हुने भएकाले माओवादीले आनाकानी गरेको स्रोतको दाबी छ ।

एमाले विभाजन गरेर एकीकृत समाजवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि ५० प्रतिशत नै समाजवादीमा नआएकाले सोहीअनुसारको भागबन्डा गर्न नसकिने गठबन्धनका नेताहरूको तर्क रहेको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement