- रबिन कटेल/संगालोखबर

धनकुटा । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईँमाथि शनिवार दिउँसो खुर्पा प्रहार भएको छ । दिउँसो करिब १२ बजे धनकुटा नगरपालिका–६ आत्मारास्थित आफ्नै घरमा बसिरहेका बेला ७५ बर्षीय नेता गुरागाईमाथि खुर्पा प्रहार भएको हो ।

Advertisement

पूर्व सांसदसमेत रहेका गुरागाईँमाथि उनकै छिमेकी २३ बर्षीय दिनेश पोख्रेलले खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहार गर्ने पोख्रेललाई घटनापछि नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । ‘खुर्पा प्रहार गर्ने व्यक्तिलाई हामीले घटना लगत्तै पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘आक्रमणको यकिन कारण खुलेको छैन, किन आक्रमण गरियो भन्ने बिषयमा हामीले अनुसन्धान गर्दैछौं ।’

ती युवाले नेता गुरागाईँलाई ‘मार्न भनेर काटेको’ प्रहरी समक्ष बयान दिएका छन् । ‘किन आक्रमण गरेको भनेर सोध्दा उसले मार्छु भनेर काटेको बताएको छ, तर किन मार्न खोजेको भन्ने खासै तार्किक कारण खुलाएको छैन,’ एसपी अधिकारीले भने ।

प्रहरीका अनुसार आक्रमण गर्ने ती युवा ‘डिप्रेशन’ को समस्याका कारण औषधि सेवन गर्दै आएका छन् । मानसिक समस्याबाट ग्रसित युवालाई राजनीतिक पूर्वाग्रहका आधारमा कसैले उक्साएर हत्या गर्न दुरुपयोग गरेको हुनसक्ने गुरागाई परिवारको अनुमान छ । विना कारण आक्रमण भएकाले राजनीतिक दुरासयले दिनेशलाई कसैले दुरुपयोग गरेर आक्रमण गराएको हुनसक्ने नेता गुरागाईँका छोरा राजु बताउँछन् । उनी भन्छन्, ‘त्यो भाईसँग कुनै नराम्रो सम्बन्ध छदै छैन, केही भएकै छैन, आक्रमण गर्नुपर्ने कुनै कारण नै देखिदैन । अचानक यसरी आक्रमण हुँनु शंकास्पद छ, दिनेशको मानसिक समस्याको कमजोरीलाई दुरुपयोग गर्दै राजनीतिक दुरासयले कसैले आक्रमण गराउँन उक्साइएको हुनसक्छ ।’

खुर्पा प्रहारबाट नेता गुरागाईँको दाहिने आँखा भन्दा माथिल्लो भागमा गम्भीर चोट लागेको छ । उनलाई धनकुटा जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा उनको उपचार भइरहेको छ । आक्रमणबाट ज्यानको जोखिम टरेपनि गहिरो चोट र रगत धेरै बगेकाले स्वास्थ्य अवस्था भने जटिल रहेको छोरा राजुले जानकारी दिए ।

घरको दलानमा सबैजना बसिरहेका बेला ती युवाले आएर एक्कासी नेता गुरागाईँको टाउकोमा खुर्पा प्रहार गरेको बताइएको छ । आक्रमण लगत्तै उनी भागेका थिए । नेता गुरागाईँमाथि आक्रमणमा प्रयोग भएको खुर्पा पनि प्रहरीले बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!