पत्रपत्रिका खवर

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।

Advertisement

– स्थानीय आवश्यकता प्राथमिकतामा

– नारा उस्ता-उस्तै

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए । ‘केन्द्रले पोलिसीगत विषय समेटेर घोषणापत्र बनाउँदै छ, स्थानीय तहले त्यसमा टेकेर स्थानीय आवश्यकतासमेत समावेश गरी स्थानीय घोषणापत्रसमेत बनाउन सक्नेछन्, त्यो अधिकार कांग्रेस केन्द्रले स्थानीय तहलाई दिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले राजधानीसँग भने ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ‘गाउँ नगर घरघर जाऊँ, माओवादी केन्द्रलाई विजय गराऔं’ नारा स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । यसैगरी ‘जसको नीति उसकै नेतृत्व’ भन्ने दोस्रो नारासमेत माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि तय गरेको छ । माओवादी केन्द्रले आधिकारिक रूपमा नारालाई घोषणापत्रमै ल्याउने बताएको छ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणापत्रको अवधारणा बनाएर स्थानीय तहलाई नै घोषणापत्र बनाउन दिने तयारी गरेको छ । माओवादी केन्द्रका नेता लिलामणि पोखलेलले केन्द्रबाट अवधारणा बनाइने र घोषणापत्र स्थानीय तहले नै बनाउने जानकारी दिए । ‘केन्द्रबाट अवधारणा बन्छ, घोषणापत्र स्थानीय तहले नै बनाउँछन्, पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको अवधारणा बनाउँदै हुनुहुन्छ,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन २०७९ का लागि ‘जनतामा जाऔं, नेकपा (एकीकृत समाजवादी)लाई जिताऔं’ नारा तय गरेको छ । तर, नाराले आधिकारिकता घोषणापत्रमार्फत नै पाउनेछ । आफ्नो दललेसमेत स्थानीय आवश्यकताका आधारमा घोषणापत्र बनाउने महासचिव वेदुराम भुषालले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अझै पनि स्थानीय तह निर्वाचनलक्षित नारा तय गरिसकेको छैन । एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेताहरू देशभर निर्वाचनलक्षित प्रचार भेलामा व्यस्त रहेकाले नारा तय गर्न ढिलाइ भएको र एमालेले घोषणापत्रसँगै चुनावी नारा पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिए । रिजालका अनुसार एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउन ईश्वर पोखरेललाई संयोजक तोकेको छ । पोखरेल नेतृत्वको समितिले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा तयार गर्ने अधिकार पाएको छ ।

जनता समाजवादी पार्टीले पनि आधिकारिक रूपमा स्थानीय निर्वाचनको नारा तय गरिसकेको छैन भने घोषणापत्र स्थानीय आवश्यकताका आधारमा बनाउने नीति लिएको छ । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेत स्थानीय तहको निर्वाचनको तयारीमा नारा तय गर्ने र घोषणापत्र बनाउने तयारीमा सक्रियताका साथ अघि बढेको नेत्री चन्दा चौधरीले जानकारी दिइन् । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!