काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको छ ।

Advertisement

पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । सो अध्ययनले २८ हजारको हाराहारीमा महिला यौनकर्मी रहेको देखाएको थियो । त्यसको ६ वर्षपछि गरिएको अध्ययनले सो संख्या बढेर झन्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।

अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरूको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ । २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ ।

त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान गरेको छ । जसमध्ये पुरुषको संख्या ३० हजारको हाराहारीमा र महिलाहरूको संख्या ३ हजारको हाराहारीमा रहेको राजधानी दैनिकमा खवर छ ।

६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए । उनले अध्ययनका क्रममा आएको नतिजाबीच धेरै भिन्नता देखिए पनि यसलाई अन्यथा लिन नहुने बताए । ‘यो हुँदै नभएको तथ्यांक पक्कै होइन, केही फरक देखिएको होला,’ उनले भने ।

अध्ययन सार्वजनिक गर्न केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले आगामी वर्षको बजेटमै यस तथ्यांकबाट आएको नतिजाको आधारमा नयाँ कार्यक्रम तर्जुमा गर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!