पत्रपत्रिका खबर
फायल तस्बीर

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन ।

मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत गौरवका आयोजनाको निर्माण कार्य धिमा गतिमा मात्र बढिरहेको पाइएको हो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थ सम्बन्धित आयोजना, मन्त्रालय, योजना आयोगका साथै अर्थ मन्त्रालयबाट पनि राष्ट्रिय गौरवका आयोजनालाई छिटो काम सम्पन्न गराउन अनुगमन तथा समन्वयकारी भूमिका हुँदै आएको बताउँछन् । ‘यो प्रधानमन्त्री कार्यालयको पनि एउटा अनुगमनको पाटो हो, हामीले पनि अनुगमन गर्ने, समन्वय गर्ने काम गर्दै आएका छौं,’ उनले राजधानीसँग भने ।

Advertisement

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्यालयले जति महŒव दिएर चासो दिनुपर्ने हो त्यो भने भएको छैन । यो विषयमा दोस्रो त्रैमासिक अवधिसम्म राष्ट्रिय गौरवका आयोजनाका विषयमा प्रधानमन्त्री कार्यालयले देखिनेगरी काम गरेको पाइएको छैन । ‘प्रधानमन्त्रीज्यूले पनि यो विषयमा खासै चासो देखाएको पाइँदैन, त्यहीँ भएर पनि जति गति लिनुपर्ने हो त्यो नभएको हुन सक्छ,’ स्रोतले भन्यो ।

अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयबाट नै राष्ट्रिय गौरवको आयोजनाको अनुगमन हुने गरेको थियो । प्रधानमन्त्री कार्यालयकै अगुवाइमा पटकपटक छलफल तथा अनुगमन हुने गरेकोमा वर्तमान सरकारको पालामा भने सेलाएको पाइएको छ ।

सरकारले ८४ अर्ब ३३ करोड संशोधित लागतमा पुष्पलाल (मध्य पहाडी) लोकमार्ग विगत एक दशक बढी समयदेखि निर्माण गर्दै आएको छ । २०६४ सालमा सुरु भएको सो लोकमार्ग आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने सो आयोजनाको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको छ । कुल १ हजार ८ सय ७९ किलोमिटर सडक निर्माण तथा स्तरोउन्नति र १ सय ३७ पुल निर्माण गर्ने लक्ष्य राखिएको पुष्पलाल लोकमार्गको हालसम्म ११ सय ४७ किमसी कालोपत्रे र ९१ वटा मात्र पुल निर्माण भएको छ । यो हिसाबले तोकिएको समयमा सम्पन्न नहुने निश्चितजस्तै देखिन्छ ।

६५ अर्ब २० करोड लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको अर्को आयोजना हो हुलाकी राजमार्ग । आर्थिक वर्ष २०६६/६७ देखि सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको पनि अहिलेसम्म साढे ७२ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । सो आयोजनाको १७ सय ९२ किलोमिटरमध्ये हालसम्म ७ सय ९५ किमी मात्र सकड कालोपत्रे भएको छ भने २ सय १९ वटा पुल निर्माण हुनुपर्नेमा १ सय १ वटा पुलको मात्र निर्माण सम्पन्न भएको छ ।

अर्को राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कर्णाली कोरिडोर) लोकमार्गको पनि उस्तै सुस्त देखिएको छ । लोकमार्गअन्तर्गत करिब साढे १६ अर्ब लगानीमा निर्माणाधीन कोसी कोरिडोरको हालसम्म साढे २५ प्रतिशत मात्र प्रगति छ । २०६५÷६६ देखि सुरु भएर आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुनुपर्ने आयोजनाको कुल १६२ किमीमध्ये १ सय ४८ किमी मात्र ट्र्याक खुलेको छ । १४ किमीको ट्र्याक नेपाली सेनाले खोल्दै आएको छ ।

लोकमार्गअन्तर्गत कालिगण्डकी कोरिडोर (मालढुंगा–राम्दी–गौडाकोट खण्ड)को पनि प्रगति उस्तै कमजोर रहेको छ । २०.२२ अर्ब लागतमा निर्माणाधीन सो कोरिडोरको हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।कर्णाली कोरिडोरको निर्माणमा पनि उस्तै ढिलासुस्ती भइरहेको पाइएको छ । ४.१० अर्ब लगानीमा निर्माणाधीन कोरिडोरको आर्थिक वर्ष २०६९/७० मा सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनुपर्नेमा २७ प्रतिशत मात्र प्रगति देखिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कतिपय आयोजनाको राम्रो प्रगति हुँदै आए पनि कतिपयको प्रगति कमजोर रहेको बताउँदै समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताएको छ । भूकम्प, नाकाबन्दी, कोरोना, लकडाउनजस्ता कुराका साथै आयोजनाको मुआब्जा तथा कतिपय प्राविधिक पक्षका कारण लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेको मन्त्रालय जनाउँछ । – टेनिस रोकाले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!