पत्रपत्रिका खबर

काठमाडाैं । एमसीसी सम्झौताको कडा विरोधमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्ततः सो सम्झौतालाई पारित गर्ने पक्षमा उभिने भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीतिहरू अख्तियार गर्दै आइरहेका थिए ।

Advertisement

उनले एमसीसी पारित गराउन गठबन्धनका दुई दल माओवादी र समाजवादीले सहयोग नगरे एमालेसँग सहकार्य हुने भन्दै दुवैलाई चेतावनी दिँदै आएका थिए । प्रधानमन्त्री देउवाले चेतावनी मात्रै दिएनन् प्रचण्ड र नेपाललाई गलाउन लगातार एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरूलाई लगातार भेट गर्दै आए । पछिल्ला तीन चार दिनदेखि यही विषयमा प्रधानमन्त्री देउवाले निकै दौडधुप गरे । उनले एमाले र त्यसका अध्यक्ष ओलीलाई देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीलाई तर्साउँदै आए । अन्ततः देउवा सफल भएका छन् र माओवादी र एकीकृतलाई कांग्रेसकै एजेन्डामा हिँडाउन सफल हुने देखिएका छन् । यी दुवै दलले प्रतिनिधि सभामा एमसीसीको पक्षमा मतदान दिने अनौपचारिक सहमति प्रधानमन्त्री देउवासमक्ष जनाइसकेको स्रोतले जानकारी दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार एमसीसीको धुवादार विरोध गर्दै आइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमसीसीको पक्षमा ल्याउन सक्नु देउवाको ठुलो सफलता हो । यसका लागि देउवाले ठुुलै मिहिनेत गरेका छन् भने सोहीअनुसार चलाखी पनि अपनाएका छन् ।

विशेषतः प्रधानमन्त्री देउवाले केही दिनदेखि एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालाई गलाउन सफल भएको बताइन्छ । यद्यपि, प्रचण्ड र नेपाल एमसीसी पास गर्न सहमत भए पनि उनीहरूलाई यो विषयमा आफ्नो दलमा औपचारिक निर्णय गराउन भने निकै सकस हुने देखिन्छ । सत्ताबाट बाहिरिनुपर्दा राजनीतिक रूपमा नै अस्तित्व जोगाउन कठिन हुन सक्ने विश्लेषण गर्दै उनीहरूले एमसीसीमा मतदान गर्ने सहमति जनाएको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको थियो । त्यसैले उनी जसरी पनि माओवादी र एकीकृत समाजवादीलाई गलाउने रणनीतिमा नै लागेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै चार दिनदेखि नै एमालेका अध्यक्ष ओली र अन्य नेताहरूसँग निरन्तर छलफल गर्दै आइरहेका थिए । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरेका थिए । गत तीन दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरेका थिए भने आफ्ना दूतहरूलाई पनि कैयौंपटक ओली र अन्य नेताहरूका पठाएर छलफल गराएका थिए ।

शनिबारसम्म आइपुग्दा गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुख नेताहरू एमसीसीप्रति पुरै सकारात्मक देखिएका हुन् । सत्ताको प्रमुख दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएमा आफूहरुको राजनीतिक अस्तित्व सकिने भयले उनीहरू त्यसलाई रोक्न एमसीसीमा सहमतिमा पुगेको स्रोतको दाबी छ । देउवाले लगातार ओलीलाई भेट्न थालेपछि प्रचण्ड नेपाल दुबै जना आत्तिन थालेका थिए । त्यसैले ओलीसँग देउवाले सम्झौता गर्नुअघि नै उनीहरू एमसीसीमा युटर्न बनेका हुन् । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!