पत्रपत्रिका खवर

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन्। यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्।

Advertisement

प्रधानमन्त्री देउवाले यसअघि दुईपटक प्रयास गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका कारणपछि हट्नुपरेको थियो। तर, अब पछि हट्ने अवस्था देखिँदैन। जसकारण दाहाल र नेपाल गठबन्धन जोगाउनुपर्ने चुनौतीमा देखिएका छन्। सम्झौताको पक्षमा जाऔं जनताबाट आलोचित हुने ‘पीर’ छ। नजाऔं गठबन्धन संकटमा पर्न सक्ने ‘डर’ छ।
अमेरिकाले जनवरीभित्र निर्णय लिन आग्रह गरेको थियो। देउवाले त्यहीअनुसार पाँचदलीय गठबन्धन बैठकमा ‘एमसीसी पास गरौं’ भन्ने प्रस्ताव राखेका छन्। त्यसले दाहाल र नेपाल झस्किएका छन्।

कांग्रेस नेता एनपी साउद एमसीसी छिट्टै संसद्मा टेबल गरिने बताउँछन्। अनुदानका रूपमा आएको यो परियोजना संसद्बाट अनुमोदन हुने नेता साउदको दाबी छ। उनका अनुसार गठबन्धनका दलसँग यसबारे धेरै पटक छलफल भएको छ। एमसीसी अघि बढाउने विषयमा कुनै दल असहमत नरहेको दाबी उनी गर्छन्।

‘प्रतिपक्षले सयोग गर्छ भन्ने लाग्छ’, उनी भन्छन्। गठबन्धनमा केही संशोधन र परिमार्जन गर्नुपर्ने कुरा उठाइएको उनको भनाइ छ। तर, के संशोधन गर्र्ने भनेर कतैबाट नआएको उनी बताउँछन्। प्रधानमन्त्री देउवा एमालेको सहयोग लिएर भए पनि सम्झौता अघि बढाउने पक्षमा देखिएका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यो विषयमा भद्र सहमति भइसकेको जनाइएको छ। गठबन्धनले एमसीसी पारित गर्ने निर्णय गरे आफूले सहयोग गर्ने वचन अध्यक्ष ओलीले देउवालाई दिएका छन्।

एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई आफ्नो पार्टी एमसीसी सम्झौता कार्यान्वयन गर्ने ठाउँमा नरहेकाले कुनै धारणा बनाइनसकेको बताउँछन्। पहिला सत्तारुढ गठबन्धनको धारणा आउनुपर्ने डा. भट्टराईको भनाइ छ। ‘हामीले अहिले यस विषयमा कुनै दृष्टिकोण बनाएका छैनौं’, डा. भट्टराई भन्छन्, ‘धारणा बनाउनुपर्ने, निर्णय र कार्यान्वयन गर्ने ठाउँमा पनि हामी छैनौं। पहिला निर्णय र कार्यान्वयन गर्नुपर्ने गठबन्धनको धारणा आउनुपर्‌यो नि!’ आवश्यक परे धारणा बनाउने उनको भनाइ छ।

ओलीले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता पारित गर्न खोजेका थिए। तर, दाहाल र सभामुख अग्निप्रसाद सापकोटाले असहयोग गरेका थिए। त्यस बेला २०७६ माघ १९ मा झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाइएको थियो। कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली सदस्य थिए। कार्यदलले परिमार्जन गरेर मात्रै सम्झौता पारित गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो। कांग्रेस नेता साउद एमसीसी सम्झौता फाइदाजनक रहेको बताउँछन्। ‘यो परियोजनाले देशको फाइदा नै हुन्छ’, उनी भन्छन्, ‘जुन विरोध भइरहेको छ, त्यो राष्ट्रिय दृष्टिकोण होइन। केबल राजनीतीकरणबाट मात्रै प्रेरित हो। बाहिर जसरी भयावह भनेर आएको छ, त्यो नियोजित प्रोपोगण्डा मात्रै हो।’

अमेरिकी दूतावासले मात्र होइन वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले पनि सम्झौता पारित गर्ने/नगर्ने विषयमा छिटो निर्णय लिन दबाब दिँदै आएको छ। जनवरीभित्र निर्णयमा पुग्न सरकार र गठबन्धन दलका शीर्ष नेतृत्वलाई दबाब दिँदै आएका छन्। तर, देउवाले फेबु्रअरीसम्म पर्खिन आग्रह गरेको स्रोतले बतायो।

एमसीसीको विषयमा छलफल जारी रहेको एकीकृत समाजवादी अध्यक्ष नेपाल बताउँछन्। भन्छन्, ‘प्रधानमन्त्रीज्यूले एमसीसी र गठबन्धनको कुरा जोड्नुभएको छैन। एमसीसीबारे छलफल जारी छ।’

कांग्रेस नेता रामचन्द्र पौडेल एमसीसीका विषयमा के भइरहेको छ भनेर आफूले नै बैठकमा नेताहरूलाई प्रश्न गरेको सुनाउँछन्। ‘साथीहरूको पार्टीभित्र के धारणा बनाउनुभएको छ भनेर मैले सोधेको थिएँ’, नेता पौडेल भन्छन्, ‘देश यसैगरी एउटै मुद्दामा अल्झेर कसरी चल्छ भनेर साधारण छलफल भएको हो।’ दाहाल र नेपालले एमसीसीका विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिएको पौडेलको भनाइ छ। – आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!